देउवा प्रधानमन्त्री भएको १ महिनाभित्र लगाए ४८ लाख नागरिकले कोरोना खोप
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएयता मात्र ४८ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। गठनबन्धन सरकार बनेको ५ साताभित्र ४८ लाखभन्दा बढी नागरिकले कोरोनाविरुद्ध खोप लगाएका हुन्। देउवा प्रधानमन्त्री भएयता गत बिहीबारसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना खोप लगाएको उनको सचिवालयले जानकारी दिएको हो।
योसँगै अहिलेसम्म देशभर खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ। देउवा प्रधानमन्त्री हुनुअघि करिब ३६ लाख नागरिकले मात्रै कोराना खोप लगाएका थिए। अहिले खोप लगाएकामध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले दुवै डोज र ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।सचिवालयका अनुसार अहिले दुवै डोज खोप लगाउनेको संख्या कूल जनसंख्याको १३ प्रतिशत पुगेको छ भने पहिलो डोज लगाउनेको संख्या १६ दशमलव ८ प्रतिशत छ। देउवा प्रधानमन्त्री हुनुअघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत थियो।
पछिल्लो पाँच हप्तामा कोरोना खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको हो। सरकारले असोज मसान्तसम्ममा जनसंख्याको ३३ प्रतिशत जनतालाई कोरोना खोप निःशुल्क लगाउने घोषणा गरेको छ। चैत मसान्तसम्म खोप लगाउन योग्य सै नागरिकलाई निःशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी छ। कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएलगत्तै उनले पहिलो प्राथमिकता नै जनतालाई निःशुल्क खोप भनेका थिए।