डोटीको बाल सुधार गृहमा बालबालिका : आफ्नै कथा, आफ्नै व्यथा

एक
एक
December 07, 1:03

डोटी, २१ मंसिर / बाजुरा जिल्लाका १३ वर्षीय राकेश (नाम परिवर्तन) गत फागुनदेखि बाल सुधार गृहमा छन् । सौतेनी आमाको छोरालाई पानीमा डुबाएर मारेको भन्दै बुवाले दिएको जाहेरीका आधारमा पक्राउ परेका राकेश बाजुरा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि बाल सुधार गृहमा छन् ।

उनलाई मुद्दाको विषयमा धेरै कुरा थाहा छैन । भिसेरा रिपोर्ट आएपछि फैसला हुन्छ भन्ने सुनेका छन् । उनी फैसलाको मिति कुर्दै बसेका छन् । उनी भन्छन्, ‘घरबाट फोन गरेर भिसेरा रिपोर्ट त नर्मल छ भनेका छन्, अब मेरो मुद्दा के होला ?’ आफूले भाइलाई नमारेको तर सौतेनी आमाको कुरा सुनेर बुवाले आफू विरुद्ध मुद्दा हालेको उनको गुनासो छ ।

कर्तव्य ज्यान मुद्दामा अदालतबाट सुधार अवधि तोकिएका दार्चुलाका मनिष (नाम परिवर्तन) पनि बाल सुधार गृहमै छन् । ‘सर्वोच्चमा पुनरावेदन गरेको चार वर्ष भयो, सुनुवाइ भएको छैन’ मनिष भन्छन्, ‘अब कहिले फैसला हुने हो थाह छैन ।’

उनले बालबालिकाहरूको मुद्दा चार महीनाभित्र टुङ्गिन्छ भन्ने सुनेका छन् तर आफ्नो मुद्दामा चार वर्षसम्म पनि सुनुवाइ नभएपछि शुरुको अदालतकै कुरा सदर भएको पो हो कि भन्ने चिन्ता छ उनमा । उनको प्रश्न छ, ‘पुनरावेदन गरेकोमा चार महीनामा टुंग्याउनुपर्ने कानून लागू हुन्न र रु’

बालबिजाइँ गरेको आरोपमा डोटी जिल्लामा रहेको बाल सुधार गृहमा रहेका बालकहरूका आफ्नै कथा, आफ्नै व्यथा अनि प्रश्न छन् । कसैले मुद्दा छिटो फैसला नभएको पिरलो गर्छन्, कसैले पुनरावेदन नसुनिएको । कसैले आफू निर्दोष हुँदाहुँदै पनि फसाइएको भन्दै आक्रोश पोख्छन् ।

आफूमाथि लगाइएको आरोप र फैसलाको मात्रै चिन्ता छैन उनीहरूलाई । सुधार अवधि कटाएर बाहिर निस्किएपछि कसरी जीवन बिताउने भन्ने चिन्ताले पनि सताएको छ । ‘मैले कसुर गरेकै छैन, अदालतबाट ममाथि लागेको आरोप प्रमाणित भएपछि समाजले सधैं मलाई अपराधी भन्नेछ’, राकेश चिन्ता व्यक्त गर्छन् ।

कैलालीका नरेश (नाम परिवर्तन) जबरजस्ती करणी गरेको कसुरमा कैलाली जिल्ला अदालतबाट तोकिएको सुधार अवधि भुक्तान गर्दैछन् । उनी आफूले कुनै कसुर नगरेको दाबी गर्छन् । ‘मलाई लगाइएको आरोप झुट्टा हो, मैले त्यस्तो कुनै कसुर गरेको छैन’ उनी भन्छन्, ‘पैसाको चलखेल भएर मलाई फसाइयो ।’ उनी भन्छन्, ‘अदालतमा निष्पक्ष न्याय हुन्छ भन्ने सुनेको थिएँ, नहुने रहेछ ।’

उनी उच्च अदालतमा पुनरावेदन गर्दा पनि शुरुको अदालतकै आदेश सदर भएको बताउँछन् । हाल उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । उनको प्रश्न छ, ‘सर्वोच्च अदालतले पनि मलाई नै दोषी ठहर्‍यायो भने मैले न्याय पाउन के गर्नुपर्छ ?’ उनी आफूलाई लागेको कसुरमा कुनै प्रमाण नभएको दाबी गर्छन् । गल्ती नगर्दा पनि अदालतले कसुरदार ठहर्‍याएपछि समाजले के भन्ला भन्ने चिन्ता गर्छन् ।

बैतडीका किशोर (नाम परिवर्तन)  पनि कर्तव्य ज्यान कसुरमा बाल सुधार गृहमै छन् । ‘मैले मार्ने नियतले मारेको त हैन, ब्याट लागेर आफ्नै साथीको मृत्यु भएको हो’ किशोर भन्छन्, ‘तर पनि सजाय भोग्नु पर्‍यो ।’ उनी अदालतले भवितव्य ज्यान ठानी ६ वर्ष कैद सुनाएको बताउँछन् । उनलाई आफ्नो यो कसुरले भविष्यमा सरकारी सेवामा प्रवेश हुन अयोग्य ठहराउने हो कि भन्ने चिन्ता छ ।

जबरजस्ती करणीकै कसुरमा सुधार अवधि भुक्तान गरिरहेका कैलालीका १७ वर्षीय किशोर आफूलाई फसाइएको दाबी गर्छन् । ‘सहमतिमै हाम्रो शारीरिक सम्बन्ध भयो तर उनका (किशोरीका) घरकाले थाहा पाएपछि मलाई जबरजस्ती करणीको मुद्दा लगाए’ उनी भन्छन्, ‘दुई वर्ष पहिलेदेखि नै हाम्रो प्रेम सम्बन्ध थियो ।’

‘सानै उमेरदेखि एक/अर्कालाई माया गर्थ्यौं, दुवैले भागेर विवाह गर्ने निर्णय गर्‍यौं’ डोटीका १७ वर्षीया अनिल (नाम परिवर्तन) भन्छन्, ‘इन्डिया जाने भनेर गएका थियौं, बाटोमै समातियौं ।’ केटी पक्षले मानव बेचबिखन र जबरजस्ती करणीमा जाहेरी दिएको बताउने अनिलको प्रश्न छ, ‘केटीले त अर्को बिहे गरिसकी रे, मेरो मुद्दा के होला ?’ पुर्पक्षका लागि थुनामा रहेका अनिललाई पनि आफ्नो मुद्दाको फैसला कहिले हुन्छ भन्ने जानकारी छैन ।

बैतडीका ललित (नाम परिवर्तन) कर्तव्य ज्यानमा सुधार अवधि काटिरहेका छन् । अदालतले उनलाई १६ वर्ष ८ महीना सुधार अवधि तोकेको छ । उनले पुनरावेदन गरेका छन्, तर सुनुवाइ भएको छैन । उनले सुधार गृहमै बसेर कक्षा १२ को परीक्षा दिए तर शुक्रबार सार्वजनिक नतिजामा उनलाई अनुपस्थित देखायो ।

उनी भन्छन्, ‘मैले सबै विषय दिएको हुँ तर दुई विषयमा अब्सेन्ट देखायो । उनको प्रश्न छ, ‘रिजल्ट सच्चिन्छ कि सच्चिन्न रु’ उनी आफूसँगै सुधार गृहबाट परीक्षा दिने अर्को साथीको पनि यस्तै समस्या भएको बताउँछन् ।

उमेर अनुसार छुट्याइएका छैनन् वयस्कहरू

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४३ (४) अनुसार ‘बाल सुधार गृहमा रहेका बालबालिकाको सो गृहमा रहनुपर्ने अवधि बाँकी रहेको अवस्थामा निजको उमेर १८ वर्ष पुगेमा निजको बानी व्यहोरामा आएको सुधार, आर्जन गरिरहेका सीप तथा शिक्षाको निरन्तरता लगायतलाई ध्यानमा राखी बाँकी अवधिसम्म सुधार गृहमा अन्य बालबालिकासँग अलग हुने गरी राख्नुपर्नेछ’ भन्ने व्यवस्था गरेको छ ।

तर, आफूहरु वयस्कसँगै बस्नु परेको बालबालिकाहरू बताउँछन् । २५ जनाको कोटा रहेको गृहमा हाल ३५ जना रहेका छन् ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा