सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार
बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।
मङ्गलबार बिहान ९ः२३ बजे विच्छ्याँ स्वास्थ्यचौकीमा सुत्केरी भएकी २३ वर्षीया कल्पना रोकायाको अत्यधिक रक्तस्राव भएपछि उहाँलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हिमाली गाउँपालिकाको विच्छ्याँ स्वास्थ्यचौकीले जनाएको हो ।
उहाँको थप उपचारका लागि आज सुर्खेत प्रादेशिक अस्पतालमा लगिएको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक राजबहादुर भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज बिहान ९ बजे बच्चा जन्मिएपछि रोकायाको रगत बग्ने क्रम नरोकिएको र सालनाल समेत नआएपछि उहाँको ज्यान जोखिममा पर्ने भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।’’
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपानी सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।रोकायाको अहिले सुर्खेत प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।