अदालते प्रहरीलाई भन्यो ‘यौन दुराचार आरोपित सांसद रावललाई थप ५ दिन हिरासतमै राख्नु’
धनगढी, चैत्र २ – जबरजस्ती करणीको आरोपमा पक्राउ परेका सुदूरपश्चिम प्रदेशका सांसद अक्कल बहादुर रावललाई थप ५ दिन हिरासतमा राख्न अदालतले तेस्रो पटक आदेश दिएको छ ।
कैलाली जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाको इजलासले आज ५ दिन म्याद थप गरेको हो । प्रहरीले ७ दिन म्याद थप्न माग गरे पनि अदालतले ५ दिनको म्याद थप गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले उनी माथि थप अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको बताए । रावल फागुन २१ गते पक्राउ परेका थिए । यस अघि गत फागुन २२ अदालतले ४ दिन म्याद थप गरेको थियो भने २६ गते दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।
अछाम स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–४ उत्तरवेहडीमा डेरा गरी बस्ने २५ बर्सिया विवाहित महिलालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा फागुन २१ गते प्रहरीले उनलाई पक्राउ गरेको हो । माघ २१ गते जबरजस्ती करणी गरेको भन्दै रावल विरुद्ध पीडित महिलाले फागुन १४ गते प्रहरी समक्ष जाहेरी दिएकी थिइन् ।