कोरोना सङ्क्रमितहरूलाई घर पठाइए पछि विवाह भोज देखि रोपाइँ र वडा भेलामा समेत पुग्न थाले 

Bajura Quarentine
Bajura Quarentine
July 02, 12:43

बझाङ, असार १८ – बाजुरामा घरमै आइसोलेसनमा बस्न भनेर पठाइएका संक्रमितहरू समुदायमा निस्फिक्री घुम्न थालेका छन् । उनीहरू विवाह समारोह, रोपाइँ तथा स्थानीय स्तरमा हुने सामूहिक गतिविधिमा सहभागी हुन थालेपछि संक्रमण समुदायस्तरमा फैलिने भन्दै स्थानीय त्रसित भएका छन् ।

बाजुराको बुढीगंगा नगरपालिका– १० स्थित भगवती माविको क्वारेन्टाइन, जहाँ कोरोना संक्रमण पुष्टि भएका र नभएकालाई सँगसँगै राखिएको छ । यही पालिकाका क्वारेन्टाइनबाट घर फर्केपछि संक्रमण पुष्टि भएका सय जनाभन्दा बढी व्यक्ति गाउँमा निस्फिक्री घुमिरहेका छन् । 

बुढीगंगा नगरपालिका–१ ले सोमबार गरेको वडा भेलामा केही कोरोना संक्रमित व्यक्ति पनि सहभागी थिए । स्थानीय भुवन उपाध्यायका अनुसार संक्रमण पुष्टि भएको केही दिनपछि उनीहरूलाई घरैमा आइसोलेसनमा बस्न भनेर परीक्षण नगरी पठाइएको थियो तर उनीहरू भेलामा सहभागी भए । ‘संक्रमित हो भनेर चिन्नेले दूरी कायम गरे, नचिन्नेले नजिकै बसेर गफगाफ गरे । संक्रमितहरू पनि आफूलाई केही नभएझैं अरूलाई छोएर, टाँस्सिएरै कुरा गरिरहेका थिए,’ उनले भने ।

जिल्लाका अन्य स्थानीय तहमा पनि संक्रमितहरू समुदायमा यसैगरी फुक्काफाल भएर घुलमिल हुन थालेका छन् । आफ्नो गाउँका केही संक्रमित विवाह कार्यक्रममा पनि सहभागी भएको बताउँदै बडीमालिका नगरपालिका–५ का बिर्ख साउदले भने, ‘घर आएको भोलिपल्टै विवाहमा आएर अरूले जस्तै रमाइलो गरे । किन यस्तो गरेको, जोखिम नबढाउनुस् भन्दा उल्टै हपार्छन् । यस्ता गतिविधिले सबैलाई सर्ने डर भयो ।’

बुढीगंगा नगरपालिकाका मात्रै एक सय जनाभन्दा बढीलाई क्वारेन्टाइनबाट घर पठाइसकेपछि संक्रमण पुष्टि भएको थियो । ‘घर पठाएको हप्ता दिनपछि पोजिटिभ देखियो, त्यतिबेलासम्म उनीहरू गाउँमा गएर सबैसँग घुलमिल भइसकेका थिए,’ नगरपालिकाको स्वास्थ्य शाखाका उपसंयोजक हस्त खडायतले भने, ‘अब फर्काएर आइसोलेसनमा ल्याउने कि के गर्ने भनेर छलफल गरिरहेका छौं ।’ नगरपालिकामा संक्रमण भएका २ सय २३ जनामध्ये कति आइसोलेसनमा छन् र कति घर पठाइएका छन् भन्ने तथ्यांक नभए पनि १ सय ३० जनाभन्दा बढी घर गइसकेको हुन सक्ने उनले बताए ।


बाजुरामा परीक्षण सुस्त भएका कारण मात्रै संक्रमण थाहा नभएको तर समुदायमा फैलिइसकेको आशंका स्थानीय बासिन्दाको छ । नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाश सिंहले व्यवस्थापकीय लापरबाहीका कारण संक्रमण समुदायमा फैलिसकेको हुन सक्ने बताए । ‘परीक्षणबिनै संक्रमितहरूलाई घर पठाउँदा जोखिम बढ्यो, होम आइसोलेसनमा पठाएकाहरू कहाँ के गरिरहेका छन् भनेर निगरानी कसैले गरेको छैन, उनीहरू समुदायमा घुलमिल भइरहेका छन्,’ उनले भने, ‘संक्रमण समुदायमा फैलिसकेको हुन सक्छ ।’

घरमा छुट्टै बस्न भनेर पठाइएकाहरूले नियमको पालना नगरिदिँदा समस्या भएको जनप्रतिनिधिहरू बताउँछन् । २ सय २३ जना संक्रमित रहेको बुढीगंगा नगरपालिकाका मेयर दीपकविक्रम शाहले अवस्था नियन्त्रणबाहिर गइसकेको बताए । समुदायमा कोही संक्रमित भए कन्ट्याक्ट ट्ेरसिङसमेत गर्न नसकिने गरी घुलमिल भइसकेको बताउँदै उनले भने, ‘कोही संक्रमित घरमा बसेन भनेर उसकै पल्लो घरको मानिसले नगरपालिकालाई गाली गर्छन् तर घरमै बस भनेर भन्न सक्दैनन् । नगरपालिकाले मात्रै सबैको जिम्मा लिन नसक्ने अवस्था भयो । मलाई लाग्छ, समुदायमा संक्रमण पुगिसक्यो ।’

क्वारेन्टाइनमा भएको भीडभाड, आरडीटी परीक्षणले दिने गलत रिपोर्ट, पीसीआर परीक्षणको सुस्तता र संक्रमित तथा स्थानीय बासिन्दामा सचेतना अभावका कारण स्थानीय तहले सम्हाल्न नसक्ने गरी अवस्था बिग्रिसकेको उनले बताए ।

स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले पनि समुदायमा संक्रमण फैलिसकेको हुन सक्ने बताए । ‘स्वास्थ्यकर्मी र प्रहरीहरू संक्रमित भइसके, समुदायका अरू मानिसमा संक्रमण नहोला भन्न सकिन्न,’ उनले समुदायमा संक्रमण फैलिएको शंका भए पनि परीक्षण गर्न नसकेको बताउँदै भने, ‘क्वारेन्टाइनमै भएकाको पनि परीक्षण गर्न सकेका छैनौं । समुदायको कसरी गर्ने रु’ क्वारेन्टाइनमा भएका सबैको परीक्षण सकिएपछि संक्रमितका परिवारको परीक्षण गर्ने योजना रहेको उनले बताए ।

बाजुरामा बुधबारसम्म संक्रमितको संख्या ४ सय ४० पुगेको छ । तीमध्ये अहिले क्वारेन्टाइन र आइसोलेसनमा ४०–५० जना मात्रै रहेको महासंघ अध्यक्ष सिंहले बताए । संक्रमितहरूमा बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका मात्रै छैनन् । क्वारेन्टाइन र आइसोलेसनमा स्वास्थ्य सेवा दिइरहेका सात जना स्वास्थ्यकर्मी र क्वारेन्टाइन सुरक्षामा खटिएका ४ जना प्रहरी पनि रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । संक्रमितमध्ये दुई जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । यद्यपि, संक्रमितहरू कस्तो अवस्थामा छन् भन्ने यकिन जानकारी भने कसैसँग छैन ।

‘संक्रमितहरू कति जना आइसोलेसनमा छन् र कति जना होम आइसोलेसनमा छन् भन्ने तथ्यांक तयार गर्दै छौं,’ स्वास्थ्य कार्यालयका प्रमुख पन्तले भने । उनले नेपाल सरकारको निर्देशिकाअनुसार १४ दिन क्वारेन्टाइनमा बसेका संक्रमितहरूलाई मात्रै घरमा आइसोलेसनमा बस्न पठाएको बताउँदै उनीहरूले होम आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने नियम पालना गराउन समुदाय पनि सचेत हुनुपर्ने बताए । कान्तिपुर अनलाईनबाट

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा