तेस्रो लहर फैलिन नदिन पूर्वतयारीमा जुटदै प्रदेश सरकार

news kailali
news kailali
June 19, 8:06

कैलाली,असार ५
५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिन सरकार पूर्वतयारीमा जुटिसकेको बताएकी छन् ।
शुक्रबार कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको स्थलगत अनुगमन गर्दै प्रदेश सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री जोशीले स्थानीय तह र प्रदेश सरकार मिलेर कोरोना महामारी नियन्त्रणका योजना बनाउन थालेको बताइन् । ‘कोरोना भाइरसको अर्को चरणको महामारी नियन्त्रण गर्न आवश्यक पर्ने पूर्व तयारीमा हामी जुटेका छौं,’ मन्त्री जोशीले भनिन्, ‘सीमा नाकाबाट संक्रमण फैलिने भएकाले यहाँ प्रविधिमैत्री संरचना निर्माण गछौँ ।’
स्थानीयतह र प्रदेश सरकार मिलेर यात्रुहरु, सुरक्षाकर्मीका लागि पनि आवश्यक संरचना बनाएर मूल नाकालाई व्यवस्थित गरिने उनले बताइन् ।
मन्त्री जोशीले सीमा नाकाको तत्कालै उचित व्यवस्थापन गर्नुपर्ने देखिएकाले शनिबार बिहानैदेखि सरसफाइलगायतका काम थालनी गरिने बताइन् ।
गौरीफन्टा नाकासँग जोडिएका कैलाली र कञ्चनपुरका स्थानीय तहले नाकालाई व्यवस्थित बनाउन आवश्यक पर्ने काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिसकेकाले संयुक्तरुपमा कार्य गरिने बताइन् ।
प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले पनि कोरोना भाइरसको तेस्रो लहर फैलिने कुराहरु आइरहेकाले रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर बनेको बताए । ‘तेस्रो लहरको संक्रमण फैलिन नदिन हामी गम्भीर बनेका छौँ,’ मन्त्री खड्काले भने, ‘त्यसका लागि भारतसँग जोडिएका गौरीफन्टा, गड्डाचौकी, दार्चुला र बैतडी जिल्लाका सबै नाकालाई व्यवस्थित गर्दैछौँ । नाकाबाट आउने सबै मानिसको चेकजाँच गरेर सुरक्षित साथ घरसम्म पुगाउने काम गछौँ ।’
मन्त्री खड्काले तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने कुरा आइरहेकाले उनीहरुलाई लक्षित गरेर अस्पतालहरुमा आवश्यक संचरना निर्माण गर्ने कामको समेत थालनी गरिने बताए ।
प्रदेशका मन्त्रीहरुसँगै सिमानाको अनुगमन गरेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले नाकालाई व्यवस्थित गर्ने विषयमा प्रदेश सरकारलाई पटक–पटक अनुरोध गर्दै आएको बताए ।
उनले प्रदेश सरकार विगतमा खासै चासो दिएको नदेखिए पनि अहिले मुख्यमन्त्री र मन्त्रीहरुसँग नाका व्यवस्थापनका सन्दर्भमा समझदारी बनेकाले व्यवस्थित बनाउन आवश्यक कामको थालनी गरिने जनाए ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीसहित धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड, पुर्नवास नगरपालिकाका मेयर जीवन थापालगायतकाले नाकाको अनुगमन गरेका छन् ।
यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपमशमशेर जबरा, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीलगायतका सुरक्षा निकायका प्रमुख पनि अनुगमनमा गएका थिए । 
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा