पुनः पार्टी सभापति बन्न तम्सिए शेरबहादुर देउवा, कस्तो छ माहोल ?

news ktm
news ktm
June 20, 9:23

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौमा हुने भएपछि सभापति शेरबहादुर देउवा पुनः दोस्रोपल्ट पार्टी सभापति बन्न तम्सिएका छन् ।
 केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति यकिन गरेपछि देउवाले आफ्नो पक्षका नेताहरूलाई एक्लाएक्लै र सामूहिक रूपमा भेटेर माहोल बुझ्ने काम गरिरहेका छन् ।
सभापति देउवा पक्षमै सभापतिका आकांक्षी देखिएका उपसभापति बिमलेन्द्र निधिसँग छलफल गर्न देउवाले बुढानिलकण्ठ बोलाएका छन् । नेपाली कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
देउवाले  शनिवार बिहान १ नम्बर प्रदेशका केन्द्र्रीय सदस्यसँग बुढानिलकण्ठमा छलफल गरेका छन् । छलफलमा देउवाले आफू फेरि सभापति बन्ने बताएका छन् ।
देउवाले छलफलमा भनेका छन्, ‘संशोधित कार्यतालिका अनुसार पार्टीको महाधिवेशन हुन्छ । म सभापतिमा लड्छु । मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको थियो । ३ तहको निर्वाचन पनि गराएँ । हामीले प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाए पनि सिट कम जित्यौं । अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउँछु ।’
कम्युनिस्ट पार्टीहरू विभाजित भएका बेला सभापति देउवाले कांग्रेस पहिलो पार्टी बन्ने देखेका छन् । बाह्य रूपमा पनि हेर्दा कांग्रेस पहिलो पार्टी हुने अनुमान गरिन्छ । यस्तो बेला पार्टी सभापति बनेर कांग्रेसलाई पहिलो पार्टी बनाउन सकेमा आफ्नो नेतृत्वमा पार्टी हारेको दाग मेटाउन सकिने देउवाको बुझाइ रहेको छ ।
‘सभापतिज्यूले पहिलो कार्यकालमा धेरै काम गर्न पाइएन । अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने भन्नुभएको छ,’ छलफलमा सहभागी एक नेताले भने । छलफलमा पार्टी सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियार सहभागी भएका थिए । देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न सबै केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् ।
देउवाले सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम बनाएका छन् । देउवाले शनिबारै उपसभापति बिमलेन्द्र निधिसहित २ नम्बर प्रदेशका केन्द्रीय सदस्यसँग समेत भेटवार्ता गरेका छन् ।
 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा