बाढीको कहरमा हुर्किएको फुटबल : जहाँ खेलाडी र मैदानको सम्पर्क डुङ्गाले जोडेको छ !

FootBall Final
FootBall Final
August 28, 6:01

भजनी – 

कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ अधिकांश समयमा बाढीको चपेटामा पर्ने क्षेत्र हो । साबिकको लालवोझी गाविस र अहिलेको वडा नम्बर ५ मा बर्सेनि बाढीले वितण्डा मच्चाउँदै आएको छ । प्रत्येक वर्ष आउने बाढीले यस क्षेत्रमा क्षति गर्ने गर्छ । हरेक बर्षातामा पुरै गाउँ डुवानमा पर्ने हुँदा धनजनको क्षति पनि हुने गरेको छ । बर्षात नजिकिदै जाँदा स्थानीय वासिन्दाहरुमा चिन्ता र दुःखले पिरोल्ने गरेको छ ।

बर्षमा एक पटक उनीहरुलाई बाढीको चिन्ता छ हुन्छ तर त्यही बाढीले फुटबल पनि हुर्काएको छ । २०६० सालदेखि दर्ता भएर फुटबल गतिविधिमा आबद्ध रहदैं आएको हिमालय युवा क्लबले बाढीमै खेलाडीहरुलाई फुटबलमा सम्भावना देखाईरहेको छ । उनीहरुको प्रतिभालाई चिनाउनका लागि मौका दिदैं आएको छ । बिहीबारदेखि काठमाण्डौंमा ‘सी’ डिभिजन छनोटका लागि प्रतियोगिता सुरु भएको अवस्थामा कैलालीको एक्लो क्लबको रुपमा सहभागीता जनाईरहेको हिमालयन युबा क्लबले बाढी र बर्षाकै बीचमा पनि उत्कृष्ट नजिता दिने आशा सहित प्रशिक्षण गरिरहेका छन् । 

दैनिक डुंगा तरेर तयारी तथा प्रशिक्षण

dd

भजनी नगरपालिका वडा नम्बर ५ मा हुलाकी सडकलाई बाढीले बगाएको छ । कान्द्रा नदीले लगातार दक्षिणतिर धार परिवर्तन गर्दै सडकलाई कटान गरेर सडक मात्रै बगाएको छैन की केही स्थानीयहरुको उठिवास पनि भएको छ । असार साउन र भदौ आधासम्म पनि कैलालीमा लगातार पानी परिरहेका कारण नदीमा पानीको वहाव बढ्दै गईरहेको छ । सी डिभिजन छनोट खेल्ने मनसाय बनाएदेखि नै हिमालयन युवा क्लबले खेलाडीहरुलाई गाउँमै राखेर प्रशिक्षण गराउँदै आएको छ । क्लबका अध्यक्ष सुरेश हमालले आफ्नै घरमा खेलाडीहरुलाई खाने बस्ने व्यवस्था मिलाएका छन् । उनको यो काममा क्लबका अन्य पदाधिकारीहरु तथा स्थानीय वासिन्दाहरुले सक्दो सहयोग गर्दै आएका छन् । 

बाढीले गाउँमा वितण्डा मच्चाईरहँदा पनि खेलाडीहरुले प्रशिक्षण लिदैं आएका छन् । उनीहरुले कर्मदेवमा रहेको कान्द्रा नदीले हुलाकी सडक काटेको उत्तरतिरको मैदानमा प्रशिक्षण गर्दै आएका छन् । तर उनीहरुलाई प्रशिक्षण गर्नका लागि दैनिक रुपमा डुंगा तर्नुपर्छ । कान्द्रा नदीमा सञ्चालन गरिएको डुंगाकै सहारामा ओहोर दोहोर गरेर प्रशिक्षण गर्दै आएका छन् खेलाडीहरु । दुई महिनादेखि खेलाडीहरुको दैनिकी डुंगा तर्दै प्रशिक्षण गर्दै वितिरहेको छ । अबको दुई हप्तासम्म पनि उनीहरुको दैनिकी फेरिने छैन् । भदौ ३० गते सी डिभिजन छनोटको खेल खेल्ने भएकोले त्यसभन्दा केही दिन अगाडीसम्म खेलाडीहरुले यसैगरी तयारी गर्नेछन् । 

उत्साहित छन् खेलाडीहरु

पछिल्ला दुई बर्षदेखि कोरोना महामारीका कारण खेलकुदका गतिविधिहरु ठप्प भए । जस कारण धेरै खेलाडीहरुले आफ्नो प्रतिभालाई देखाउन पाएनन् । स्थानीयस्तरमा आयोजना हुने प्रतियोगिताहरुमा सहभागी हुने खेलाडीहरु त्यो मौकाबाट बन्चित भए । प्रतियोगिताहरु खेले वापत पाउने पारिश्रमिक पनि पाउन छोड्यो । त्यति मात्रै होईन खेलाडीहरुलाई अभ्यास गर्न पनि समस्या भयो । हिमालयन युवा क्लबले सी डिभिजन छनोट खेल्ने भएपछि मौका पाएका खेलाडीहरु भने उत्साहित भएका छन् । आफुहरुले सबै जनालाई राम्रो खेलरे देखाउने मौका मिलेको क्लबका कप्तान रामसिंह चौधरीले बताए । 

2

राम्रो नतिजाको आशा, युवा खेलाडीलाई मौका 

खेलाडीहरु लाइ दैनिक रुपमा प्रशिक्षक माधव भण्डारीले प्रशिक्षण दिदैं आएका छन् । भण्डारी आफैं पनि राम्रा मिडफिल्डर मध्येका एक हुन् । उनले बी डिभिजनमा रहेको च्यासल युथ क्लब ए डिभिजनमा उक्लिदा सोही क्लबबाट खेलेका थिए । चौथो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकप सुदुरपश्चिम ११ ले जित्दा पनि टोलीका महत्वपुर्ण खेलाडी रहेका थिए । प्रशिक्षक मात्रै युवा होईन् सी डिभिजन छनोट खेल्ने अधिकांश खेलाडीहरु पनि युवा तथा किशोर अवस्थाकै छन् । उनीहरुबाट राम्रो नतिजाको अपेक्षा सहित टीममा समावेश गरिएको हो ।

यसअघि विभिन्न प्रतियोगिताहरुको उपाधि जितिसेको क्लबले यसपाली भने नयाँ प्रतिभाहरुलाई उनीहरुको खेल देखाउनका लागि अवसर दिएको छ । सी डिभिजन छनोट खेल्नका लागि अधिकांश तयारी सकिएको क्लबका व्यवस्थापक अनिल कठायतले बताए । एक दुई जना अनुभवी खेलाडी पनि टीममा छन् । उनीहरुले युवा खेलाडीलाई निगरानीमा राख्दै उत्कृष्ट खेल पस्किन सघाउनेछन् । त्यसका लागि पोजिसन अनुसार तालमेल मिलाउन नियमित प्रशिक्षण गराईरहेको क्लबका प्रशिक्षक माधव भण्डारी बताउँछन् । 

1

तयारी खर्च धान्न धौ धौ

विभिन्न ठाउँका २० जना खेलाडीहरु लालबोझी गाउँमा बसेर नियमति प्रशिक्षण गर्दै आईरहेका छन् । उनीहरुलाई खाने बस्ने व्यवस्था क्लबका अध्यक्ष सुरेश हमालको घरमा गरिएको छ । छनोट खेल्न काठमाण्डौं जानका लागि पनि धेरै रकमको आवश्यकता पर्छ । तर आर्थिक स्रोतको अभाव झेल्दै सी डिभिजन छनोट खेल्ने तयारीमा जुटेको क्लबका अध्यक्ष सुरेश हमालले बताए । एन्फामा सुदुरपश्चिम प्रदेशमा आबद्ध कैलाली कञ्चनपुरबाट एक्लो क्लबको रुपमा हिमालयन क्लबले सी डिभिजन छनोट खेल्दैछ । तर पनि सहयोग कुनै क्षेत्रबाट नपाईएको अध्यक्ष हमालको दुखेसो छ ।

यदपी आफ्नै खर्चमा प्रतियोगिता खेल्न तम्सिएको क्लबलाई हुन सक्ने सानोतिनो सहयोग भने क्लबका पदाधिकारी स्थानीय वासिन्दा र खेलप्रेमीहरुले गर्दै आएका छन् । क्लबकै सदस्य रहेका शिशिर हमालले टीमलाई गतिमान मेडटेकबाट जर्सी सहयोग गरेका छन् । त्यसैगरी पिएफए स्पोर्टस क्लबका अध्यक्ष रहेका सन्तोष भट्टले आफ्नो पिएफए स्पोर्टस हाउसको तर्फबाट जर्सी सहयोग गरेका छन् । स्थानीय तह तथा वडा लगायतका कार्यालयबाट सहयोग पाईएको छैन । 

3

सुस्ताएको खेल गतिविधि चलायमान बनाउने प्रयास 

4

कैलालीको भजनी र टीकापुर क्षेत्रमा एक दशक अगाडीसम्म दर्जनौं फुटबलका प्रतियोगिता हुने गरेको थियो । क्लब तथा विभिन्न संघसंस्थाहरुले फुटबल प्रतियोगिताहरु आयोजना गर्दा कैलाली कञ्चनपुर तथा देशका विभिन्न स्थानहरुका मात्रै होईन भारतबाट पनि टीमहरु सहभागी हुन्थे । खेल हेर्न गाउँ नै उर्लिन्थ्यो सो क्षेत्रमा बर्षातमा उर्लिने बाढी जस्तै । तर पछिल्ला बर्षहरुमा अवस्था फेरियो । फुटबल शहर बजारतिर सह्यो । गाउँघरतिर प्रतियोगिता हुन छोडे । जस कारण धेरै राम्रा खेलाडीहरुले मौका समेत पाउन सकेनन् । 

हिमालयन युवा क्लबले नै कैलाली जिल्लामा बर्सेनि फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । १५ बर्षसम्म निरन्तर प्रतियोगिता आयोजना गरेको क्लबले पछिल्लो ५ बर्षमा त्यसलाई निरन्तरता दिन सकेको छैन् । क्लबले २०७२ सालमा सुदुरपश्चिमको प्रतिनिधित्व गर्दै नेपालगंज गोल्डकपको उपाधि पनि जित्यो । त्यसभन्दा अघि भारतको सिंघाई लखनउ कलकत्ता पिथौरागढ लगायतका स्थानहरुमा हुने प्रतियोगिताहरु जितिसकेको थियो । क्लबका अध्यक्ष सुरेश हमालकै नेतृत्वमा सुदुरपश्चिम ११ स्पोर्टस क्लब स्थापना ,हमालको धनगढी बसाईले भजनी क्षेत्रमा हिमालयन क्लबको बर्सेनि हुने प्रतियोगितामा ब्रेक लाग्यो । बीचमा क्लब छोडेका हमालकै अध्यक्षतामा रहेको सुदुरपश्चिम ११ स्पोर्टस क्लबको आयोजनामा सुदुरपश्चिम खप्तड गोल्डकपको भने सुरुवात भयो । पछिल्लो वर्ष कोरोनाका कारण सो प्रतियोगिता पनि आयोजना हुन सकेन् । 

सुदूरपश्चिम फुटबलको जीवनदाता 

बिस २०७३ सालमा सुदूरपश्चिममै पहिलो पटक धनगढीमा गोल्डकप फुटबलको आयोजना गर्दा धेरैलाई आश्चर्य लागेको थियो ।  पिछडिएको क्षेत्रमा निजी क्षेत्रको सर्वाधिक धनराशीको फुटबल आयोजना गर्न आयोजक सुदुरपश्चिम –११ स्पोर्ट्स क्लबलाई पनि सजिलो थिएन् । तर, विभिन्न बाधा र समस्याका बाबजुत सुदुरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताका तीन संस्करण सम्पन्न भए । फेरि पनि गोल्डकप अवस्था ठीक भएमा आयोजना होला । हिमालयन क्लबले सुदुरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगिता खेल्दै आएकोमा त्यसकै अभाव चिर्न र गोल्डकप आयोजना गर्न सुदुरपश्चिम ११ को परिकल्पना गरिएको हो । 

नेपालको सुदुरपुर्वी जिल्ला इलामदेखि, सुनसरी, कास्की, चितवन, नेपालगञ्ज लगायतका स्थानमा बार्षिक गोल्डकप फुटबलहरु संचालन हुँदै आईरहेको थियो ।  तर, सुदूरपश्चिममा एउटा पनि गोल्डकप प्रतियोगिता भएको थिएन । सुदूरपश्चिमको फुटबल बिकासमा सक्रिय युवाहरुलाई सुदूरपश्चिममा गोल्डकप नहुनुको अभाव खड्किएको थियो । त्यहि अभावलाई चिर्न फुटबलमा लागेका युवाहरु मिलेर सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब गठन गरे । बाढीग्रस्त क्षेत्रमा सक्रिय हिमालय युवा क्लबले सुदुरपश्चिमको प्रतिनिधित्व गर्दै सुदुरपश्चिम–११ को नामले विभिन्न प्रतियोगितामा सहभागिता जनाउन थालेपछि सुरेश हमालको नेतृत्वमा फुटबल प्रेमी युवाहरु मिलेर सुदुरपश्चिम–११ स्पोर्ट्स क्लब दर्ता भएको थियो ।

पछिल्लो समय सुदूरपश्चिममा फुटबलले गति लिन थालेको छ । सुदूरपश्चिमले आशा गरेको जस्तो सफलता पाएको छ । छैटौं राष्ट्रिय खेलकुदमा २०६८ सालमा सुदूरपश्चिमको पुरुष टिमले स्वर्ण जितेको थियो । दुई बर्षअघि सुदुरपश्चिम ११ स्पोर्टस क्लबले खप्तड गोल्डकप जितेको धेरैले बिर्सन सकेका छैन् । त्यही उतारचढावका बीच हिमालय क्लब सी डिभिजन छनोटमा सहभागी हुदैंछ । 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा