काँग्रेस महाधिवेशन : डोटीका ६४ वडामा सर्वसम्मत नेतृत्व चयन
डोटी । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत डोटीमा वडा अधिवेशन सम्पन्न गरेको छ । जिल्लामा रहेका ६५ वडामा नयाँ नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न गरेको हो । जिल्लामा एक वडामा निर्वाचन भए पनि ६४ वटा वडामा सर्वसम्मत रूपमा वडा सभापति तथा ६३ वडामा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि छनोट भएका नेपाली काँग्रेस डोटीका पार्टी सचिव नारायण जोशीले जानकारी दिए ।सचिव जोशीका अनुसार सायल गाउँपालिका-१ छपालिमा वडा सभापतिका लागि निर्वाचन हुँदा रण बहादुर देउवा विजयी भए । त्यस्तै क्षेत्रीय प्रतिनिधिका लागि सायल गाउँपालिकाको-५ मा र जोरायल गाउँपालिकाको-३ मा निर्वाचन भएको जोशीले बताए । त्यस्तै जिल्लाका ३ वडामा दलित सभापतिहरू चयन भएका छन् । सभापति हुनेहरूमा वोगटान गाउँपालिका-६ मा हर्क ताम्राकार,-७ मा टेक बहादुर सार्की र आदर्श गाउँपालिका-५ मा भूमिराज वडा सभापतिमा चयन गरिएको जोशीले बताए ।
वडा तहमा सर्वसम्मत नेतृत्व चयनले डोटी काँग्रेस एक ढिक्का भएको सन्देश दिएको नेपाली काँग्रेस डोटीका पार्टी सभापति प्रदिव कुमार देउवाले बताए । वडा तह जस्तै गाउँ ,नगर ,प्रदेश र जिल्लामा एकताको सन्देश जाने गरी महाधिवेशन सम्पन्न हुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य वीर बहादुर बलायरले बताए ।
नेपाली काँग्रेस डोटीका पार्टी सचिव नारायण जोशीले एक विज्ञप्ति जारी गर्दै वडा अधिवेशन सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाल शिक्षक सङ्घ डोटीका प्रतिनिधि, क्रियाशील सदस्य, नेता कार्यकर्ता, शुभेच्छुक सङ्गठन, सुरक्षाकर्मी लगायतलाई धन्यवाद व्यक्त गरे । जोशीद्वारा हस्ताक्षर विज्ञप्तिमा नवनिर्वाचित कार्यसमिति,क्षेत्रीय प्रतिनिधिहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । जिल्लामा पाँच हजार भन्दा बढी क्रियाशील सदस्य रहेका सचिव जोशीले जानकारी दिए ।
निर्धारित कार्यतालिका अनुसार काँग्रेसको गाउँ-नगर अधिवेशन भदौ २७ , प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख छ । केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मङ्सिरसम्म काठमाडौँमा हुने उल्लेख छ ।