प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिँदै

news
news
October 24, 8:34

७ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् ।

नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् ।

एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् । एमालेकी सांसद गुलेफुन खातुन भने फरार छिन् । सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएकी उनी आजको प्रदेशसभा बैठकमा उपस्थित हुने सम्भावना कम छ ।

सरकरी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिमाना सजायको फैसला सुनाएपछि फरार रहेकी उनी प्रहरीको खोजी सूचीमा छन् । प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद् छन् । एक सांसद रहेको राप्रपा भने कुनै पक्षमा खुलेको छैन ।

विपक्षी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ।विश्वासको मतदानपछि गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा राजेन्द्र राईलाई अघि सार्ने नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।नेकपा एमाले प्रदेश १ प्रमुख सचेतक बुद्धिकुमार भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत लिने बताए । बहुमत प्राप्त नगरे पनि मुख्यमन्त्रीले विश्वासको मत लिने उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद् सचिवालयमा दर्ता गराएका थिए । शुक्रबार बसेको बैठकमा उनले सो प्रस्ताव टेबल गरेका थिए । मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेपछि सभामुखले छलफल र मत विभाजनका लागि आजसम्म बैठक स्थगित गरेका थिए ।

९३ प्रदेशसभा सदस्य (हाल ९२ जना) रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ ।प्रदेशमा सत्तारुढ दल एमालेसँग सभामुखसहित ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा रहेको कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मन्चका एक जना सांसद छन् ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा