सर्वोच्च विवाद: आजदेखि पुनः सबै प्रकृतिका मुद्दामा पेशी तोकियो
काठमाडौँ। केही दिनदेखि बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र सुनुवाई गरेको सर्वोच्च अदालतले आजदेखि पुनः सबै प्रकृतिको मुद्दाको सुनुवाईका लागि पेशी तोकेको छ ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बन्दी प्रत्यक्षीकरण मुद्दाको मात्र पेशी तोक्दै आउनुभएको थियो ।सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश इजलासबाट अलग भए बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइ गर्ने अडान राखेपछि प्रधानन्यायाधीश जबराले सोही बमोजिम मुद्दाको पेशी तोक्दै आउनुभएको थियो ।
प्रधानन्यायाधीश जबराले आजका लागि आफूमात्र रहने एकसहित ११ वटा इजलासमा सुनुवाईका लागि २ सय ९८ मुद्दाको पेशी तोक्नुभएको छ ।प्रधानन्यायाधीश जबराले सबै प्रकृतिका मुद्दाको पेशी तोकेकाले बन्दी प्रत्यक्षीकरण मुद्दा बाहेक अन्य मुद्दाको सुनवाई नगर्ने अडान राख्दै आएका न्यायाधीशहरू आज पनि इजलास बस्ने सम्भावना कम छ ।
प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एसोसिएसन आन्दोलनमा छ ।यसैबिच नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा माग गर्दै आज पनि विरोधका कार्यक्रम जारी राखेको छ ।
कानुन व्यवसायीहरूले प्रधानन्यायाधीश जबराले सहकर्मी न्यायाधीश र कानुन व्यवसायीको विश्वास गुमाइसकेकाले जतिसक्दो चाँडो राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् ।