कानुन व्यवसायीले मागे गृहमन्त्री खाँणको राजीनामा
काठमाडौँ — कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । सर्वोच्च अदालत परिसरभित्र सशस्त्र र दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् । कानुनको मन्दिरभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर कानुन व्यवसायीहरुमाथि दमन गर्न खोजिएको उनीहरुले बताएका छन् ।
आइतबारको प्रदर्शनमा वकिलहरुले 'दंगा प्रहरी बाहिर जा' भन्ने नारा लगाएपछि त्यहाँ रहेका एक डीएसपीले माइकबाट, 'तपाईंहरू आफ्नो मुद्दा, मागका नारा लगाउनुस्, यो त प्रहरीविरुद्ध जस्तो भयो' भनेपछि कानुन व्यवसायीले नाराबाजी गरेका थिए । प्रहरी अधिकारीको उक्त आह्वानपछि कानुन व्यवसायीले गृहमन्त्री, प्रधानन्यायाधीश, अदालत प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् ।
वकिलहरुले अदालत परिसरभित्र धर्ना दिन थालेयता सर्वोच्च अदालतमा प्रहरी र सुरक्षा बढाइएको छ । अदालत परिसरभित्र सशस्त्र प्रहरी समेत उपस्थित भएपछि कानुन व्यवसायीहरुले हटाउन माग गर्दै आएका छन् ।
आइतबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई 'गुण्डा नाइके' भन्दै राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।