अपाङ्ग दिवसमा नेत्रहीन युवा सङ्घ कैलालीको र्याली (फोटो कथा)
३ डिसेम्बरलाई सन् १९९२ देखि संयुक्त राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने गरेको छ । अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्न, विभिन्न चुनौतीहरूको समाधान निकाल्न, अपाङ्गतासम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।
सन् २००७ सम्म यसलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भन्ने गरिन्थ्यो । प्रत्येक वर्ष यो दिवसले विभिन्न विषयमा आफूलाई केन्द्रित राख्छ । तर, विषय वा शीर्षक जे भए पनि यो दिनको खास उद्देश्य हो– अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्नु र यसबारे हुनसक्ने समस्याहरूको समाधान निकाल्न प्रयास गर्नु ।
सन् २०२१ को आजको दिन यो दिवसको मूल नारा रहेको छ– पोस्ट कोभिड समयमा अधिकारका लागि लडाइँ । दुई वर्षदेखि पुरै विश्व महामारी कोभिड १९ सँग लडिरहेको छ । यो समयमा अरू सबै जनाजस्तै अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि चुनौती थपिएका छन् । यही विषयलाई मध्यनजर गर्दै आजको दिन उनीहरूको अधिकारका लागि विशेष कार्यक्रमहरू गरिन्छ ।
सोही अवसरमा आज नेत्रहीन युवा सङ्घ कैलाली शाखाले पनि विविध कार्यक्रमसहित दिवस मनाएको छ । दिवसका अवसरमा नेत्रहीन युवा सङ्घ कैलालीका अध्यक्ष अर्जुन रावलको अगुवाइमा धनगढी रातो पुलबाट एलएन चौकसम्म विविध नारा तथा प्ले कार्डसहित र्याली प्रदर्शन गरिएको थियो ।
उक्त र्याली फोटोमा हेरौँ -: