डडेल्धुरामा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

September 12, 12:53

डडेलधुरा,२६ भदौ । पाठेघरको मुखको क्यान्सरविरुद्धको भ्याक्सिन (खोप) लगाइने भएको छ। नेपाल सरकारका सातवटै प्रादेशिक अस्पतालबाट पहिलो पटक खोप लगाउन सुरु गरेको छ। 

डडेलधुरा अस्पतालबाट सो सेवाको शुभारम्भ गरिएको छ  तर माग आधारमा भ्याक्सिनको भने अभाव रहेको अस्पतालले जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले राष्ट्रिय खोप कार्यक्रम एचभिपी अभ्यास अभिमुखीकरण अन्तर्गत यही भदौ २७, २८ र २९ गते खोप लगाइने जानकारी दिएको छ। 

स्वास्थ्य निर्देशनालय डोटीका खोप निरीक्षक मीनराज जोशीले सुदूरपश्चिममा २० हजार खोपको डोज आवश्यक भए पनि पहिलो चरणमा ३८२ डोज मात्रै उपलब्ध भएको जानकारी दिनुभयो।

यसमा पनि ३६४ डोज मात्र लगाउन मिल्ने अनुमान गरिएको छ। अस्पतालमा पहिले पुग्नेलाई मात्र लगाइने भएकाले भ्याक्सिनको अभाव हुने उहाँले बताउनुभयो। यो भ्याक्सिन १४ वर्ष उमेर पुगेका किशोरीलाई मात्र लगाइने छ। १० देखि १४ वर्ष उमेर पुगेका किशोरीलाई लगाउनुपर्ने मापदण्ड भए पनि खोपको अभावमा हाल १४ वर्ष उमेर पुगेका किशोरीलाई मात्र लगाइन लागेको जानकारी उहाँले दिनुभएको हो। 

२०६५ साल भदौ ३० देखि २०६६ साल भदौ ३० गतेसम्म जन्मिएका किशोरीको उमेर १४ वर्ष पुगेको हुन्छ, उहाँले भन्नुभयो, यो मिति भित्र जन्मिएका किशोरीले खोप लगाउन पाउने छन्। खोप लगाउने दिन किशोरीसँगै आमा अस्पतालमा आएमा आमाको पनि पाठेघरको जाँच गरिने उहाँले बताउनुभयो। यस कारण किशोरीसँग आमाले अनिवार्य रूपमा उपस्थित भइदिन आग्रह गरिएको छ। 

यो भ्याक्सिनको दुई वटा डोज लगाइन्छ। पहिलो डोज लगाएको छ महिनापछि दोस्रो डोज लगाउनुपर्ने हुन्छ। उहाँका अनुसार यौन सम्पर्कमा आउनुभन्दा अगाडि नै भ्याक्सिन लगाउँदा फाइदा पुग्ने अपेक्षा गरिएको छ। 

त्यस कारण भ्याक्सिन लगाउने उमेर १०–१४ वर्ष तोकिएको हो। सर्वप्रथम नेपालमा २०७२ सालमा कास्की र चितवनमा यो भ्याक्सिन परीक्षणका रूपमा लगाउन सुरु गरिएको थियो। हाल भने सातवटै प्रदेशका सङ्घीय अस्पतालहरूबाट खोप लगाउन अभ्यासका रूपमा थालिएको छ। नेपालमा १९ प्रतिशत महिलामा पाठेघरको मुखको क्यान्सरको समस्या रहेको छ। बिपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गरेको एक अध्ययन अनुसार सन् २०२० यता यसको समस्या बढ्दै गएको देखिएको छ।   

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा