डडेलधुराको पोखरा–बेलापुर सडक, कमसल कालोपत्रे

September 23, 11:00

डडेलधुरा, असोज ६ गते । कञ्चनपुरको दैजीलाई डडेलधुरा हुँदै बझाङ जिल्लाको देउरा जोड्ने सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजना अन्तर्गत पोखरा–बेलापुर सडक कालोपत्रेको काम कमसल भएको गुनासो स्थानीयको छ। नवदुर्गा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा सञ्चालित बजेट तथा कार्यक्रमको बिहीबार आयोजित सार्वजनिक सुनुवाइमा उपस्थित स्थानीय तथा प्रतिनिधिले सडक कालोपत्रे कमसल भएको गुनासो गरेका हुन्। 

अमरगढी नगरपालिका–७ र नवदुर्गा गाउँपालिका–१ को पोखरा–बेलापुर सडकखण्डमा कालोपत्रेका लागि निर्माण गरिएका नाली र पर्खाल कमसल भएको नवदुर्गा गाउँपालिकावासीको आरोप छ। सडकको पोखरा–बेलापुर खण्डको १० किलोमिटर कालोपत्रे गर्न सडक २० करोड ४८ लाख ८५ हजार रुपियाँलगायतमा पूर्वाधार विकास कार्यालय डडेलधुराले केएस कन्स्ट्रक्सनसँग २०७७ असार २८ गते सम्झौता गरेको थियो। २०८० असार २७ गते पूरा गर्ने गरी सडक कालोपत्रेको सम्झौता भएको थियो। 

पूर्वाधार विकास कार्यालय डडेलधुरा प्रमुख नवराज रावलका अनुसार सडक निर्माणको काम हालसम्म करिब ८० प्रतिशत पूरा भएको छ। नेकपा (माओवादी केन्द्र) का गाउँपालिका कमिटी अध्यक्ष धर्म विकले गोरुले सिङ कन्याउँदा पर्खाल भत्किने गरेकाले कालोपत्रे पनि त्यस्तै नहोस् भन्दै अनुगमन गर्न माग गर्नुभयो। 

राष्ट्रिय जनमोर्चाका गाउँपालिकास्तरीय अध्यक्ष प्रेम बुढाऐर, नेपाली कांग्रेस बिपीका नेता रमेश ऐरलगायत स्थानीयले काम रोकेर मापदण्ड अनुसार निर्माण गर्न लगाउनुपर्ने सुझाव दिएका छन्। गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले ठेक्का सम्झौतामा उल्लेख भए अनुसार काम भए नभएको बारे गाउँपालिकाका प्राविधिकसहित सर्वपक्षीय अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। 

सुनुवाइ कार्यक्रममा स्थानीय उद्धवसिंह बुढाऐरले वडा नम्बर १ को असुर्पा गाउँमा स्वास्थ्य चौकी नहुँदा समस्या भएको, यसै वडाको बगरमा स्वास्थ्य चौकी र पशु सेवाको भवन भए पनि कर्मचारी नहुँदा समस्या भएको गुनासो गर्नुभयो। 

नवदुर्गा गाउँपालिकामा मदिरा निषेध गरिए पनि अवैध रूपमा ठुलो परिमाणमा मदिरा बिक्री हुँदै आएकोप्रति स्थानीयले गुनासो गर्नुभयो। वडा नम्बर ५ को इस्लेक, वडा नम्बर १ को मटेलाबस्तीमा बिजुलीका पोल गाडिए पनि तार राख्ने कार्य नहुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएको स्थानीय राम भुलले गुनासो गर्नुभयो। गाउँपालिका अध्यक्ष अवस्थीले बगरको स्वास्थ्य चौकी र पशु सेवा केन्द्रमा एक/एक जना कर्मचारी खटाइएको र कार्यालयमा उपस्थित हुने नहुने सवालमा अनुगमन गरेर दैनिक खटाउने बताउनुभयो। उहाँले असुर्पा गाउँमा गाउँघर क्लिनिक सञ्चालन गर्न गाउँ सभाबाट निर्णय भएको, मदिरा नियन्त्रण गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। 

आर्थिक वर्ष २०७९/८० मा नवदुर्गा गाउँपालिकाले चालुतर्फको ३१ करोड २८ लाख ३८ हजार रुपियाँ बराबरमा २७ करोड ३३ लाख ४७ हजार ६२४ रुपियाँ खर्च गरेको थियो। पालिकामा प्राप्त तीन करोड ९४ लाख ९० हजार रुपियाँ फ्रिज गएको थियो।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा