चाडपर्वमा विमान कम्पनीको बह्मलुट: काठमाडौं–दिल्ली भन्दा 'काठमाडौं–धनगढी'भाडा महङ्गो
धनगढी । काठमाडौंबाट धनगढीसम्मको हवाई भाडा प्रतियात्रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौंबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । देशको आन्तरिक हवाई सेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो ।
काठमाडौं–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौं–धनगढीको हवाई भाडा सात हजार नौसयबाट वृद्धि गरी सत्र हजारभन्दा बढी पुर्याएको गुनासो यात्रुको छ । चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे ।
उनले भने, 'काठमाडौंबाट नयाँ दिल्लीको हवाई भाडा सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।,' चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन ।
धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए । 'मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छु, उनले भने, 'चाड पर्वको बेला काठमाडौंबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडौं जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।,'
भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ । हाल काठमाडौं–धनगढीको भाडादर १४ हजार सातसय एकदेखि १७ हजार एकसय ८६ रुपैयाँ लिने गरिएको छ । धनगढीदेखि काठमाडौंसम्मको भाडा भने निम्नतम सात हजार नौ सय छ । गएको साउन महिनादेखि यात्रुको हवाई टिकटमा मूल्य अभिवृद्धि कर(भ्याट) समेत जोड्ने गरिएको छ ।
यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडौंमा चार सय र धनगढीमा पाँच सय रुपैयाँ तोकिएको छ । धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाडौं–धनगढी–काठमाडौंसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ ।
यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ । निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ ।