लोप हुँदै परम्परागत धर्मशाला
बाजुरा । यात्रा गर्ने बटुवाको सुविधाका लागि निर्माण गरिएका परम्परागत धर्मशाला लोप हुँदै गएका छन् । नुन र तेल ल्याउनका लागि हाट जाने हटेरु तथा देश प्रदेश गर्नेको बास बस्ने व्यवस्थाका लागि समाजका दानी तथा परोपकारी व्यक्तिले धर्मशाला बनाउने र नाम कमाउने प्रचलन रहेको थियो ।
पछिल्लो पुस्ताले भने यस्ता कार्यमा भने खासै चासो नदेखाउँदा लोप हुँदै गएका हुन् । त्रिवेणी नगरपालिका–८ का दिनेश सार्कीले पहिलेका पुस्तालाई दैनिक उपभोग्य सामग्री ल्याउन महिनौँ दिन लाग्ने गरेको बताउनुभयो । उहाँले ती हटेरु तथा बटुवालाई बास बस्न सहज हुने गरी गाउँका धर्मीले गोरेटो, घोरेटो बाटोको बिच बिचमा धर्मशाला निर्माण गर्ने गरेको बताउनुभयो ।
मनमा शान्ति हुने र पछिल्लो पुस्ताका लागि पनि राम्रो सन्देश दिने गरी गाउँका अगुवाले जिल्लाका विभिन्न ठाउँको बिच बाटोमा धर्मशाला बनाउने गरेको सार्की बताउनुहुन्छ ।
पहिलेका मानिस साइतमा जाँदा बाटोमै रात परेपछि त्यसै धर्मशालामा बास बस्ने गर्दथे । यसले गर्दा एकातर्फ पैसा बचत हुन्थ्यो भने अर्कोतर्फ सुरक्षित हुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।
बाजुराका विभिन्न ठाउँमा देखिने धर्मशाला अहिले विस्तारै भत्किँदै गएका छन् । बाजुराको पोरखेलेख, पौवा, नाटेश्वरी, अछामको बुढाबगर र टोटासाललगायतका धर्मशालासमेत पछिल्लो समयमा लोप हुँदै गएका छन् ।
अहिले ती अधिकांश धर्मशालाको नाम निसान छैन। ती धर्मशाला केही भत्किइसकेका छन् भने केही अहिले पनि भग्नावशेष अवस्थामा छन् । बाजुराको पोरखेलेखमा रहेको धर्मशाला पनि अहिले भग्नावशेष अवस्थामा देखिएको छ ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेका हिमाली, जगनाथ, स्वामीकार्तिक खापर, बुढीनन्दालगायत स्थानीयलाई टाढासम्मको यात्रा गर्दा वा हाट जाँदा रात परेपछि त्यसैमा बास बस्ने गरेको पाण्डुसैनवासी बताउँछन् ।
बावुबाजेले छिमेकी देश भारत तथा नेपाल सहर (काठमाडौँ) आउँदा जाँदा वा खाद्यान्न सामग्री लिन हाट जाने आउने हटेरु अर्थात् बटुवाका लागि बास बस्न सहज हुने गरी धर्मशाला बनाएको बताइन्छ ।
धर्मशाला बनाउँदा धर्म र समाजमा नाम कमाइन्छ भन्ने विश्वासका साथ बाजुरा, अछाम, टोडी, डडेलधुरा हुँदै कञ्चनपुरसम्म धर्मशाला तथा थकान मार्नका लागि बरपिपल चौतारी बनाउने परम्परा रहेको पाइन्छ ।
अहिले गाउँमा गाडी पुगेसँगै यस्ता धर्मशाला पनि भग्नावशेष अवस्थामा रहेको बुढीनन्दा नगरपालिका–९ का स्थानीय पदम रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्ताले भारतको टनकपुर, नेपालको राजापुर, दिपायल, डोटीबाट हाट ल्याउने समय बास बस्न सहजताका लागि बनाएका धर्मशाला पछिल्लो पुस्ताले चासो नदेखाएकाले विस्तारै लोप हुँदै गएका हुन् ।”
पहिला बाजुराको सबै सरकारी काम काज दिपायल, डोटी नै हुने गथ्र्यो। त्यतिबेला यहाँका स्थानीय सो कामका लागि दिपायल नै आउजाउ गर्थे । त्यहाँ जाने आउनेलाई बाटोमा बस्न सहज हुने गरी विभिन्न ठाउँमा धर्मशाला बनाउने गरेको रोकायाले बताउनुभयो ।
पछिल्लो समय विकास निर्माणमा आएको परिवर्तनसँगै गाउँका बस्तीमा मोटर बाटो जोडिँदै गएपछि धर्मशाला पनि विस्तारै लोप हुँदै गएका छन् । पहिलेका पुस्ता घरबाट आउँदा हाटबाट फर्किंदा जहाँ धर्मशाला छन् त्यतिसम्म अनिवार्य पुग्ने गरी हिँड्ने गर्थे ।
उनीहरू टनकपुर, राजापुर दिपायललगायतका विभिन्न ठाउँबाट हाट ल्याउन गएको बेला त्यही धर्मशालामा खाना पकाएर खाने त्यसैमा बास बस्ने गर्थे । धर्मशालामा जो पहिला पुग्यो त्यो राम्ररी बास बस्न पाउँथ्यो भने पछि पुग्नेहरू त्यो धर्मशालाको नजिकै वा बाहिरपट्टि बास बस्ने गर्थे ।
हाटमा जाने बेला रात परेपछि चोर डाँका तथा जङ्गली जनावरबाट बच्न सहज हुने गरी समाजका अगुवा अर्थात् धर्मीहरूले बाटो बाटोमा धर्मशाला बनाउने गरेका हुन् तर अहिले सडक यातायातको सुविधासँगै गाडी मोटर चल्दा धर्मशाला देखिनै छोडेका हुन् ।