दसैँ अवधिभर सुपमा एघार दुर्घटना
कैलाली । यस वर्षको बडादसैँ अवधिभर सुदूरपश्चिमका विभिन्न स्थानमा ११ वटा सवारी दुर्घटना भएका छन्। असोज २८ देखि कात्तिक ९ गतेसम्म भएका दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक नेत्रमणि गिरीले गत वर्षको दसैँभन्दा यस वर्ष सवारी दुर्घटनामा कमी आएको बताउनुभयो। यस वर्षको दसैँमा सवारी दुर्घटनामा परेर नौ जना घाइते भएका छन्।
ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ७५७ जना सवारीचालक कारबाहीमा परेको र कारबाहीबाट करिब १० लाख राजस्व उठेको प्रदेश ट्राफिक प्रहरी प्रमुख गिरीले बताउनुभयो।
गत वर्ष दसैँ अवधिमा १२ वटा सवारी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरीको अभिलेखमा उल्लेख छ। सो अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए।
ट्राफिक प्रहरीले एक हजार ९७४ सवारीचालकलाई कारबाही गरेर १७ लाख नौ हजार राजस्व असुलीसमेत गरेको थियो। राजस्व असुली, सवारी कारबाही र सवारी दुर्घटना गत वर्षको दसैँमा बढी भएको देखिएको छ।
यस वर्षको दसैँमा भने सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या बढी देखिएको छ। यात्रुको चाप बढी हुने, सडकको अवस्था, सवारीसाधनको अवस्थाले पनि दसैँमा अन्य समयको भन्दा धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरी प्रमुख गिरीको अनुभव छ।
दसैँको समयमा चालक र सवारीधनीलाई बढी रकम कमाउने लोभ लालसाले क्षमताभन्दा बढी यात्रु बोक्दा पनि सवारी दुर्घटना बढ्ने गरेको र मानिसको मृत्यु पनि धेरै हुने गरेको पाइएको छ। प्रत्येक वर्ष सवारी दुर्घटना बढे पनि कारबाहीको भागिदार भने कोही बन्नु परेको छैन ।
यसैबीच बाजुरा समाचारदाताका अनुसार दसैँका बेला बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीमालिका नगरपालिका–६, जडाङ्गाका अन्दाजी ३७ वर्षीय बहादुर दानी रहेका छन्।
प्रहरीका अनुसार साँफे मार्तडी राजमार्गमा पर्ने जडाङ्गा नजिकै ट्याक्टर दुर्घटना हुँदा दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एम के कन्सट्रक्सन कम्पनीमा कार्यरत कर्मचारी दानीले चलाएको सु.प्र ०१ ००२ त ६८२६ ट्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।
सो ट्याक्टर सडकबाट २० मिटर तल खसेपछि दानीको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले बताउनुभयो । उहाँले ट्याक्टर चालक दानीले मदिरा सेवन गरेकाले ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको बताउनुभयो ।