पत्रकार बर्खास्तीको विषयमा प्रशासन मार्फत सरकारलाई ज्ञापन
धनगढी, भदौ ८ - रेडियो नेपालमा कार्यरत पत्रकार बर्खास्तीको विषयमा नेपाल प्रेस युनियन कैलालीले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छ । ज्ञापन पत्रमा लेखिएको छ, ‘रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलमा कार्यरत तीन जना सञ्चारकर्मीहरूलाई जागिरबाट निकालिएको घटनाप्रति नेपाल प्रेस युनियन कैलालीको गम्भीर ध्यान आकर्षण भएको छ । विगत १० वर्ष देखि उक्त प्रसारण केन्द्रमा कार्यरत सञ्चारकर्मी सुनिता रावल, ३ वर्ष देखि कार्यरत पत्रकार प्रकाश बम र चक्र कुँवरलाई तत्काल जागिरमा पुनर्बहाली गर्न विभागीय माननीय मन्त्री ज्यू सँग जोडदार माग गर्दछौँ ।
लोकतन्त्रको प्राप्तिका लागि पत्रकारीताका माध्यमबाट ठुलो योगदान पु¥याएका पत्रकारहरूलाई जानकारी सम्म नदिई जागिरबाट निष्कासन गरिएको घटनाले नेपाल प्रेस युनियनलाई चिन्तित बनाएको छ । यसलाई युनियनले प्रेस स्वतन्त्रता, पेसागत सुरक्षा विरुद्धको कदमको रूपमा लिएको छ ।
यस्तो पूर्वाग्रही पूर्ण निर्णय तत्काल सच्याई तीनै जना पत्रकारको पुनर्बहाली गरी काममा फर्काउन प्रेस युनियन माग गर्दछ । अन्यथा पत्रकारको हकहित र पेसागत सुरक्षाका लागि आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौँ । यस्ता अन्याय पूर्ण र अलोकतान्त्रिक निर्णय विरुद्ध नेपाल सरकार र सम्बन्धित सबैमा ध्यानाकर्षण गराउन चाहन्छौ ।’