१५ बैंक ह्याकिङको चेतावनी : के भन्छ राष्ट्रबैंक ?
काठमाडौँ: नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ।
बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ। बुधबार साँझ इमेल आएतापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्यासेज आएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख एवं प्रवक्ता देवकुमार ढकालले जानकारी दिए।
उनका अनुसार आफूलाई ह्याकर बताउने समूहले राष्ट्र बैंकसहित १५ वाणिज्य बैंकको सिस्टम ह्याक गरी रकम निकाल्ने म्यासेज भाइबर र म्यासेन्जरमा प्राप्त भएको थियो।
“मलाई भाइबर र म्यासेन्जरमा यस्तो म्यासेज प्राप्त भएको थियो, हामीले हाम्रो नेपाल राष्ट्र बैंकको र बैंकहरूको सिस्टम चेक ग¥यौँ, हाम्रो सिस्टम सुरक्षित छ, ह्याक भएको छैन, डराउनुपर्ने अवस्था छैन”, उनले भने, “यो कार्य कानूनीरूपमा दण्डनीय हो, त्यसमाथि कारबाही हुन्छ।”
उनका अनुसार इमेल र कल गर्ने व्यक्तिको विषयमा थप अनुसन्धान भइरहेको छ तर कसले त्यस्तो म्यासेज पठाएको भन्ने विषयमा हालसम्म केही खुलेको छैन। कसैले धम्क्याउने प्रयोजनका लागि पनि उक्त इमेल र फोन गरेको हुनसक्ने आशङ्का गरिएको बैंकका अधिकारीहरु बताउँछन्।