दार्चुलामा बाढीपहिरो : तीनको मृत्यु, २ बेपत्ता, एउटा बजारसहित दर्जन बढी घर बगे
कैलाली -
निरन्तरको वर्षा पछि दार्चुलाका विभिन्न क्षेत्रमा आइतबार राति आएको बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा दुहु गाउँपालिका–१ बास पालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिल्ला महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिएका छन् । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको भट्टले बताए।
बाढीले घर, पुल र लघु जलविद्युत् समेत बगाएको छ । यस्तै दुहु गाउँपालिकाको वडा नम्बर ५ मा बाढीले बगाएर मनुवा डडालको पनि मृत्यु भएको छ । काला गाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको थियो । बाढीले घरसहित पुल, जलविद्युत आयोजना, पानी घट्ट र पशु चौपाया पनि बगाएको र कति क्षति भएको घ भने अझै यकिन गर्न नसकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले बताए ।
सो क्षेत्रमा ५ वटा पसल, दुई वटा लघु जलविद्युत् आयोजना, चार वटा झोलुङ्गे पुल र एउटा पक्की पुल बगेको जानकारीमा आए पनि यकिन भई नसकेको उनको भनाई छ । यस्तै वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको जिल्ल प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भट्टले बताए।
निजाङगाडकै खोलाले दार्चुला–तिंकर सडकमा रहेको मोटरेबल पुल र दुई वटा झोलुङ्गे पुल पनि बगाएको छ। सो क्षेत्रमा रहेका आधा दर्जन घर तथा पसलहरू बगाएको छ । दार्चुला–तिंकर सडकको निजाङगाड पुल बग्दा दुहुँ र व्यास गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ ।
यस्तै महाकाली नगरपालिका १ को श्रीबगडमा देव बहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जीतबहादुर बमको पसल बगाएको छ । सो क्षेत्रमा रहेको श्रीबगड बजार नै बगाएको प्रजिअ जोशीको भनाई छ । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा जनप्रतिनिधिहरू समेत पुगेका र राहत तथा उद्धारको काम भइरहेको जोशीले जानकारी दिए ।