प्रदेश सभामा पनि देउवापक्षकै बर्चस्व
धनगढी,५ मङ्सिर । नेपाली काङ्ग्रेस कैलालीको प्रदेश सभामा पनि देउवा पक्षकै उम्मेदवारले बर्चस्व कायम गरेका छन् । सो पार्टीको १४ औं महाधिवेशन अन्तर्गत यहाँ भएको प्रदेश सभा अधिवेशनमा नेपाली काङ्ग्रेसका सभापति देउवा पक्षका उम्मेदवार विजयी भएका हुन ।
यसअघि भएको पालिका अधिवेशनमा देउवा पक्षकै उम्मेदवारले बाजी मारेका थिए । प्रदेश सभामा विजयी सबै जना पार्टी सभापति देउवा पक्षका उम्मेदवार रहेका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए । उनका अनुसार चार वटा क्षेत्र सर्वसम्मतले सभापति चयन गरिएको छ भने, छ वटा क्षेत्रमा निर्वाचन भएको छ ।
निर्वाचन भएको क्षेत्र नम्बर २ को क मा १४७ मत ल्याएर भीम जैशी सभापतिमा विजयी भए । उनले गोविन्द विष्टलाई पराजित गरे । सो क्षेत्रको ख मा १५० मत पाएर तेजप्रकाश मल्ल सभापतिमा विजयी भए । उनले लक्ष्मण बमलाई पराजित गरे । क्षेत्र नम्बर ४ मा पदम कलेललाई पराजित गर्दै काशीराम शर्मा सभापतिमा विजयी भए । विजयी शर्माले १६३ मत प्राप्त गरे । सोही क्षेत्रको ख मा १७६ मत प्राप्त गरेर गोपालदत्त भट्ट विजयी भए । उनले हेमप्रकाश मल्ललाई पराजित गरे ।
क्षेत्र नम्बर ३ को क र ख दुवै, क्षेत्र नम्बर १ को ख र क्षेत्र नम्बर ५ को ख मा निर्विरोध सभापति चयन गरिएको छ । सुनारले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ को ख मा बलिराम चौधरी निर्विरोध भए । यसैगरी, क्षेत्र नम्बर ३ को क मा रामप्रसाद चौधरी र ख मा कमलराज चौधरी सर्वसम्मतले सभापतिमा चयन भएका छन् । क्षेत्र नम्बर ५ को ख मा केशव जोशी सर्वसम्मतले सभापतिमा चयन भए । यसअघि सो क्षेत्रमा मानवबहादुर चौधरी, रुपेश स्वाँर, धर्म उपाध्याय र केशव जोशीको उम्मेदवारी परेको थियो ।
नेपाली काङ्ग्रेसले सबै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन लगाएर जोशीलाई सभापतिमा सर्वसम्मत चयन गरेको जनाइएको छ । क्षेत्र नम्बर १ को क मा रामकृष्ण चौधरी र परशुराम चौधरीबीच चुनाव भएको छ । यो समाचार तयार पार्दासम्म त्यहाँ मतगणनाको कार्य जारी रहेको प्रचारप्रसार समिति संयोजक सुनारले जानकारी दिए ।
क्षेत्र नम्बर ५ को क मा निर्वाचन भएको छ । वर्तमान प्रदेश सभापति कुम्भराज गिरी र धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षसमेत रहेका सीताराम रानाबीच चुनावी प्रतिस्पर्धा भएको हो ।प्रदेश सभाको निर्वाचनमा वडाबाट निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधि र वडा सभापतिहरुले मतदान गरेका थिए । जिल्लाभरी दुई हजार ५५१ मतदाता रहेका थिए । अब मङ्सिर ६ गते संघीय निर्वाचन क्षेत्रको अधिवेशन हुने नेपाली काङ्ग्रेसले जानकारी दिएको छ । संघीय निर्वाचन क्षेत्रको अधिवेशनका लागि उम्मेवादरी घोषणा गर्नेक्रम सुरु भएको छ ।
जिल्ला सभापतिका लागि रस्साकस्सी सुरु
यसैबीच, मङ्सिर १० गते हुने जिल्लाको अधिवेशनका लागि जिल्लास्थित सभापतिका दाबेदार नेताहरुको दौडधुप बढेको छ । उनीहरु आ–आफ्नो प्रचारप्रसारमा लागेका छन् । मतदाता रिझाउनमा व्यस्त भएका छन् ।
जिल्ला अधिवेशनको तिथि नजिकिदै जाँदा पार्टीको आन्तरिक चुनावी सरगर्मी झनै बढेको प्रचारप्रसार समिति संयोजक सुनारले जानकारी दिए । ‘नेताहरुको दौडधुप बढेको छ’, उनले भने ।
जिल्ला सभापतिका लागि अहिलेसम्म छ जना आकांक्षी देखिएका छन् । वर्तमान उपसभापतिसमेत रहेका प्रकाश बम गौरीगङ्गा, धनगढी उपमहानगरपालिकाका प्रमुखसमेत रहेका नृपबहादुर वड, क्षेत्रीय सभापति खेमराज चौधरी जिल्ला सभापतिका आकांक्षी छन् । महाधिवेशन प्रतिनिधि भीमबहादुर बडुवाल गणेश देउवा र पूर्व जिल्ला उसभापति नारायणदत्त भट्ट सभापतिका आकांक्षी छन् ।
आफ्नो इतरका नेता कार्यकर्तासंग छलफल गर्नमा उनीहरुको दौडधुप बढेको छ । सामाजिक सञ्जालमार्फत पनि प्रचारप्रसार व्यापक पारेका छन् । जिल्ला सभापतिमा निर्वाचन लड्नका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु पर्ने नेपाली काङ्ग्रेसको विधानले व्यवस्था गरेको जनाइएको छ ।