काङ्ग्रेस सुदूरपश्चिम महाधिवेशनमा प्रेम ओझाको सह महामन्त्रीमा दाबी
धनगढी - आसन्न नेपाली काङ्ग्रेस सुदूरपश्चिम महाधिवेशनमा नेता प्रेम ओझाको सह महामन्त्री पदका लागि उम्मेदवारी रहने भएको छ । अहिले प्रदेश महाधिवेशनको सरगर्मी बढेका बेला ओझा आफ्ना लागि सह–महामन्त्रीमा भोट माग्दै हिँडेका भेटिन्छन् । २०५२ सालमा कैलाली क्षेत्र न. ३ को ने. वि. सङ्घ क्षेत्रीय सभापति हुँदै, नेपाली काङ्ग्रेस कैलाली जिल्ला सदस्य, लगायत पार्टीका थुप्रै जिम्मेवारी निर्वाह गरिसकेका ओझाले आफ्नो बेग्लै पहिचान बनाएका छन् । नेपाल तरुण दल कैलाली जिल्ला अध्यक्षको जिम्मेवारी बहन गरिसकेका नेता प्रेम ओझा सामान्य जीवन शैली र सहयोगी भावनाका नेता मानिन्छन् । ओझाले विभिन्न समयमा पार्टीका विभिन्न गतिविधिहरू सञ्चालनका जिम्मेवारीहरू निष्ठापूर्वक बहन गरेको कुरा अन्य नेताहरूले पनि स्विकार्दै आएका छन् । उनी निकट एक नेताले भने ‘उहाँले प्रदेशमै चुनाव लड्ने भनेर महाधिवेशन प्रतिनिधि साथीहरू जानुस्, म प्रदेश प्रतिनिधि जान्छु प्रदेश कमिटीको जिम्मेवारी बहन गर्छु भन्नुभयो । उहाँ जिम्मेवारी कसरी निभाउने, सबैलाई कसरी मिलाएर जान सकिन्छ भन्ने कुराप्रति सधैँ सजग रहने मान्छेमा पर्नुहुन्छ। त्यसैले उहाँप्रति इच्छाइएको पदमा सबैको सद्भाव रहनेछ भन्ने आशा छ ।’ कैलाली तरुण दलको अध्यक्षको जिम्मेवारी बहन गर्ने क्रममा आफूले विभिन्न व्यक्तिहरूको नेतृत्व विकासका लागि र राजनीतिलाई समाजसङ जोड्नका लागि अहम् भूमिका खेलेको ओझाको दाबी छ ।