डोटीमा ‘ट्राइल सेन्टर’ सञ्चालनमा नआउँदा सेवाग्राही मर्कामा
डोटी २५ पुष / दिपायलमा सवारी अनुमति पत्र दिनका लागि चाहिने ‘ट्राइल सेन्टर’ निर्माण भएको ६ महिना भइसक्यो, तर लाइसेन्स दिनका लागि यातायात व्यवस्था सेवा कार्यालयले अनुमति भने पाएको छैन। लाइसेन्स वितरणका लागि आवश्यक पर्ने भौतिक संरचना निर्माण भइसक्दा पनि विभागबाट अनुमति नपाउँदा सेवा सञ्चालन हुन नसकेको हो। कार्यालय स्थापना भएको ३ वर्षपछि २०७५ चैतबाट सवारी चालक अनुमति पत्र वितरण गर्न दिने भन्दै राजपुरमा ‘ट्राइल सेन्टर’ निर्माण गरिएको थियो।
निर्माणको काम गत असार मसान्तमा सकिएर सवारी चालक अनुमति पत्र दिनका लागि फाराम खुल्नु पर्ने भए पनि विभागबाट अनुमति नआउँदा लाइसेन्स वितरणको काम सुरु गर्न नसकिएको हो। ‘डोटीमा यातायात व्यवस्था सेवा कार्यालय खुलेको भए पनि यहाँबाट सवारी चालक अनुमति पत्र पाउन नसक्दा गाडीमा एक दिनको बाटो तय गरेर धनगढी जानुपर्ने बाध्यता छ,’ सेवाग्राही लोकराज पाठकले भने, ‘लाइसेन्स बनाउनकै लागि धनगढी जानुपर्ने र त्यहाँ जाँदा होटल बास तथा खाना खर्च गरेर महँगो पर्ने गरेको छ।’
सेवा कार्यालय डोटीमा हुँदा हुँदै पनि विभागले सवारी चालक अनुमति पत्र वितरणका लागि अनुमति दिन नसक्दा सेवाग्राही मर्कामा परेको उनले बताए। ‘गाडीका सबै सरकारी काम डोटीमै रहेको सेवा केन्द्रमार्फत् हुन्छ, तर सवारी चालक अनुमति पत्र भने पाइँदैन,’ अर्का सेवाग्राही रमेश ओझाले भने,‘लाइसेन्स बनाउनकै लागि धनगढी धाउनु पर्ने भएको छ, त्यहाँ जाँदा खर्चिलो हुन्छ।’ प्रयोगात्मक परीक्षण स्थल ९ट्राइल सेन्टर० निर्माण भइसके पनि विभागबाट अनुमति नपाउँदा लाइसेन्स वितरण प्रक्रिया सुरु गर्न नसकिएको यातायात व्यवस्था सेवा केन्द्र दिपायलका कार्यालय प्रमुख पूर्णबहादुर शाहले बताए।
उनले भने, ‘ट्राइल सेन्टर निर्माण भएको ६ महिना वितिसक्दा पनि विभागको अनुमति पाउन नसक्दा सेवा दिन सकिएको छैन।’ आफूले तीन पटक सेवा सञ्चालनका लागि अनुमति माग्न पत्राचार गरेको उनले बताए। ‘हामीले ट्राइल सेन्टर निर्माण गरिसकेको र अब सवारी चालक अनुमति पत्र यहाँबाट दिन पाउँ भनेर सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई तीन पटक पत्राचार गरिसक्यौँ,’ उनले भने,‘पत्राचार गरेको भए पनि अहिलेसम्म अनुमति पाउन नसक्दा सेवा दिन सकेका छैनौं।’
अन्तिम पटक गत साउन ५ गतेका दिन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई ट्राइल सेन्टर निरीक्षण गरेर यातायात व्यवस्था विभागलाई सिफारिस गरिदिन पत्राचार गरिएको बताउँदै उनले भने,‘हामीले यहाँको ट्राइल सेन्टर निरीक्षण गरेर लाइसेन्स दिनका लागि अनुमति दिन भनेर पटक पटक पत्राचार गरेका छौँ, तर अहिलेसम्म अनुमति नै पाएका छैनौ।’ दिपायलमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएपछि लाइसेन्सका लागि पटक पटक सेवाग्राही सोध्न आउने गरेको पनि उनले बताए।
‘हाम्रो कार्यालयमा लाइसेन्स कहिले खुल्छ भनेर सेवाग्राही सोध्न आइरहन्छन्,’ उनले भने,‘हामीले पनि चाँडै हुन्छ भन्छौँ, तर त्यो चाँडो कहिले आउँछ थाहा छैन।’ लाइसेन्स दिनका लागि चाहिने आवश्यक जनशक्तिको पनि अभाव रहेको उनले बताए। ‘हामी कहाँ आवश्यक जनशक्तिको कमी पनि छ,’ उनले भने,‘सेवा थपिने वित्तिकै कर्मचारी पनि थप्नुपर्छ।’ कर्मचारी थपिदिन पनि माग गरिएको उनी बताउँछन्।
नागरीक दैनिक बाट साभार