कैलालीमा ओली पक्षका २ धार

एक
एक
January 10, 2:08

धनगढी,२६ पुष /  नेकपा एमाले कैलालीको अधिवेशनले सर्वसम्मतिमा नेतृत्व चयन गर्न नसक्दा मतदान हुने भएको छ । नेतृत्वको लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिमको राजधानी तथा प्रमुख जिल्लासमेत मानिने कैलालीको नेतृत्वका लागि एमाले नेताहरू छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् ।

एकातिर पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सहइन्चार्ज कर्ण थापाको प्यानल चुनावी मैदानमा होमिएको छ । सो प्यानलबाट अध्यक्षका लागि वर्तमान कैलाली अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाले उम्मेदवारी दिएका छन् ।

अर्कोतिर पार्टीका पूर्वउपाध्यक्ष भीम रावल र पार्टी अध्यक्ष ओली पक्षीय मानिने एमाले केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज नारदमुनि रानाबीचको संयुक्त प्यानल छ । सो प्यानलबाट वर्तमान उपाध्यक्ष रणबहादुर चन्दले अध्यक्षको लागि उम्मेदवारी दिएका छन् । कुनै बेला भीम रावलको कट्टर आलोचक मानिने डेजी पाण्डे पनि हाल रावल र रानाको प्यानलबाट उम्मेदवारी दिएका छन् ।

रतन थापाविरुद्धको सो मोर्चामा रावल पक्षधर प्रतिनिधि सभा सदस्य झपट रावल, केन्द्रीय सदस्य लीला भण्डारी, कमला ओली, दीपक देवकोटा पनि एकै ठाउँमा उभिएका छन् ।  कैलाली इन्चार्ज रानाले आफूहरू केपी ओलीको भावनाअनुसार रतन थापाको अराजकताविरुद्ध उभिएको बताएका छन् । 

प्रदेश इञ्चार्ज भट्ट पक्षधरहरूले अध्यक्ष ओलीको नीति र नेतृत्वविरुद्ध भीम रावल पक्षधरहरूले चन्दलाई अघि सारेको आरोप लगाएका छन् । रावल पक्षले पार्टीको प्रदेश इन्चार्ज भट्ट र प्रदेश सहइन्चार्ज थापाले भेगीय रुपमा प्यानल खडा गरेको आरोप लगाएको छ । तर, भटट् पक्षबाट अध्यक्षका लागि उम्मेदवारी दिएका थापाले सबै क्षेत्र मिलाएर प्यानलसहित उम्मेदवारी दिएको दाबी गरेका छन् ।

यसअघि आइतबार बिहान ८ बजेका लागि तोकिएको मतदान निर्वाचन समितिले प्राविधिक कारणले भन्दै दिउँसोसम्म सारेको थियो । तर, साँझसम्म मतदान प्रक्रिया शुुरू हुन सकेको थिएन ।

मतदानमा ढिलाइ भएको भन्दै प्रतिनिधिहरू आक्रोशित भएपछि अधिवेशन स्थलमा तनाव सिर्जना भएको थियो । दुई पक्षबीचको विवादका कारण निर्वाचन समितिले सोमवारसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको थियो । अधिवेशनबाट ५ पदाधिकारीसहित १५० जनाको समिति छनोट गरिने छ । 

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा