सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको मतदान जारी
धनगढी, १२ माघ - सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । सुदूरपश्चिममा रिक्त रहेका तीन वटा राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा केहीबेर अघि मतदान शुरू भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षहरुले मतदान केन्द्र ‘ख’ मा भोट खसालिरहेका छन् ।
मतदान दिउसो ३ बजेसम्म चल्ने प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए । सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्ट चुनावी दौडमा छन् । गठबन्धनबाट नेपाली काँग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट गरिमा शाह छन् । प्रदेशमा ५२ जना प्रदेशसभा सदस्य र १ सय ७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।