पाहुनाको रोजाइमा ढिक्री र सिन्की

January 29, 2:12

धनगढी । कैलाली जिल्लाको भादामा सञ्चालित थारू होमस्टे (घरबास) भ्रमणमा पुगेका मुख्यमन्त्री कमलबहादुर शाहले थारू भाषामा ‘महिन आकुर सिन्किक् टिना देऊ’ (सिन्कीको तरकारी अझै दिनुहोस्) भने । 

थारू समुदायको रैथाने परिकार ढिक्री र सिन्की आफ्नो मन पर्ने परिकार भएकाले थपेर खाएको भनाइ उनको छ । थारू भाषा तथा संस्कृतिसँग चिरपरिचित मुख्यमन्त्री शाहका लागि थारू परिकार कुनै नौलो चिज थिएनन् । 

तर ढिक्री र सिन्की परिकारको स्वादको पारखी भएकाले थपेर खान करै लागेको उनले बताए । ढिक्री र सिन्की विशेष गरेर चाडपर्वका बेला बनाइने परिकार हुन । थारू होमस्टे भादामा यही परिकार सदाबहार र सबैको रोजाइमा पर्ने गरेको छ । होमस्टे पुगेका अधिकांश पाहुना तथा आगन्तुकको पहिलो रोजाइ तथा खुराक नै ढिक्री र आलु सिन्कीको तरकारी हुने गरेको बताइन्छ । नास्ताका रूपमा पनि ढिक्री र सिन्की खुवाइने गरिएको छ । चामलको पिठोबाट बनेको ढिक्री र गाउँमै उत्पादित आलुबाट बनेको सिन्कीको तरकारी अर्गानिक रहेको भादाका होमस्टे सञ्चालक बताउँछन् । पहिलो पटक भादा गाउँ पुगेका नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष गजुरधन राईले थारू समुदायको खानाको परिकार अन्य समुदायको भन्दा छुट्टै रहेको उल्लेख गरे । 

भादाका पर्यटन व्यवसायीले ढिक्री र सिन्कीलाई होमस्टेको ‘ब्रान्ड’ परिकारका रूपमा  स्थापित गर्न खोजेका छन् । स्वदेशी वा विदेशी सबैलाई नास्ताकारूपमा थारू खानाको परिकार ढिक्री र सिन्कीको तरकारी दिने गरेको भादाकी पार्वती चौधरीले बताइन । ‘कहिलेकाहीँ अवलोकनका लागि विभिन्न विद्यालयका विद्यार्थी पनि आउने गर्छन्’, उनले भनिन्, ‘विद्यार्थीदेखि विदेशीसम्म सबैलाई हामीले आफ्नो परिकार खुवाउने गरेका छौँ ।’

यहाँको होमस्टेमा भइरहेको सोही अभ्यासका कारण विगतमा थारू भान्सामा मात्रै सीमित ढिक्री र सिन्की अचेल व्यावसायिक खानाको परिकारकै रूपमा स्थापित भइरहेको छ । विभिन्न समूहमा आबद्ध महिलाले यस प्रकारको परिकारलाई मेला, महोत्सवमा लगेर बिक्री गर्न थालेका छन् । 

मेला महोत्सवमा ढिक्री र सिन्कीको परिकार बिक्री गरेर एक लाख रुपियाँसम्म कमाइ हुने गरेको भादाकै माया चौधरीले बताइन्। प्रतिप्लेट ८० देखि एक सय रुपियाँसम्म पर्ने गरेको छ । ढिक्री र सिन्की थारू समुदायको रैथाने परिकार पनि हो । यो परिकार पाहुनाको रोजाइमा पर्न थालेपछि अचेल धनगढीमा सञ्चालित होटल तथा रेस्टुरेन्टले समेत उक्त परिकार बिक्री गर्दै आएका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा