टीकापुरमा सेनाको ब्यारेक राखिँदै

January 29, 8:24

टीकापुर । टीकापुरमा नेपाली सेनाको क्याम्प राख्न पहल थालिएको छ । टीकापुर नगरपालिकाले २०७५ सालमै जग्गा उपलब्ध गराउने निर्णय पठाए पनि काम सुरु हुन सकेको थिएन । 

पुस अन्तिम साता टीकापुर आउनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकालाई स्थानीयले स्मरण गराएपछि ब्यारेक राख्ने काम अघि बढेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीले २०७५ असार ३ गते पत्र लेखी जग्गा उपलब्ध गराउन माग गरेको थियो । 

यसै पत्रका आधारमा टीकापुर नगरपालिका नगर कार्यपालिकाको २०७५ असोज २ गतेको बैठकले जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । निर्णयमा लेखिएको छ,  ‘विपद्का घटनाहरू भइरहने भएकाले विपद् व्यवस्थापन, राहत, उद्धार र सुरक्षाका लागि सेनाको ब्यारेक आवश्यक रहेकाले टीकापुर नगरपालिका ५ मा रहेको भगरैया वनको सम्भाव्य क्षेत्रमा बढीमा दश बिघा जग्गा उपलब्ध गराउने निर्णय गरियो ।’

निर्णय कार्यान्वयन गराउन कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले माघ ८ गते स्थलगत अवलोकन गर्दा पहिले दिने भनिएको स्थान उपयुक्त नभएकाले उपल्लो तटमा छुट्टाउन नगरपालिकालाई जिम्मा दिइएको बताउनुभयो ।

टीकापुर नगरपालिकाका प्रमुखलगायतका जनप्रतिनिधिले सेनाको ब्यारेक राख्न माथिल्लो क्षेत्र भैरवनाथ नर्सरी नजिकको बस्तीका नागरिकको राय लिएका छन् । त्यहाँका स्थानीयले मिश्रित प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेश सभाका सदस्य लक्ष्मण किशोर चौधरीले विपद्मा उद्धार, सर्पदंश उपचार केन्द्रलगायतका काम नेपाली सेनाले गर्ने भएकाले ब्यारेक आवश्यक भएको तर वडा ५ भन्दा बाहिर हुनुपर्ने सुझाव दिनुभयो । 

स्थानीय कलशराम चौधरीले आफ्नो बस्तीका गाई गोरु चर्ने क्षेत्रमा सेनाको ब्यारेक राख्दा समस्या हुने भएकाले बस्तीबाट टाढा हुनुपर्ने बताउनुभयो । अर्का स्थानीय खगिसरा घर्तीमगरले विकासले पछिपरेको क्षेत्रमा सेनाको ब्यारेक बस्दा स्थानीयलाई पनि लाभ हुने अपेक्षा गर्नुभयो ।

स्थानीयको फरक–फरक प्रतिक्रिया आएपछि टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले नगरपालिकाको मातहतमा रहेको १३२ बिघा जमिनबाट बस्तीलाई कुनै समस्या नहुनेगरी १० बिघा दिने बताउनुभयो । कर्णाली मोहना नदीले बर्सेनि विपद् ल्याउने टीकापुरमा नेपाली सेनाले सहयोग गर्दैआएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा