खडेरीले सुक्न थाले हिउँदे बाली

January 31, 7:10

बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका कारण जिल्लाका अधिकांश ठाउँमा कात्तिकदेखि मङ्सिरमा छरेको गहुँ र जौ बाली अहिलेसम्म उम्रिन सकेको छैन । 

सिँचाइ नभएको क्षेत्रमा लगाएको हिउँदे बाली जौ गहुँ खडेरीका कारण धमाधम सुक्न हुन थालेपछि बर्खाको समय के खाने भन्ने यहाँका किसान चिन्तित भएका छन् । 

जिल्लाको बुढीगङ्गा नगरपालिकाको सेलापाखा तिमाडा बाहुनगाउँ बदेडा लगायतका क्षेत्रमा हिउँदमा छरेको गहुँ जौ पानी नहुँदा अहिले सुकेर पहेँलो बनेको छ । बाजुरामा सिँचाइको सुविधा भएको ठाउँमा पनि पानी आकाशे पानी नपर्दा गहुँ राम्रो हुन नसकेको यहाँका किसान बताउँछन् ।

यो वर्ष हिउँदमा लामो समयसम्म पानी नपर्दा हिउँदे बाली गहुँ जौ खेती सुक्न थालेको बुढीगङ्गा नगरपालिका १० बदेडाका स्थानीय मनबहादुर बताउनुभयो । उहाँले भन्नुभयो, “कात्तिक मङ्सिरमा पानी नपरे पनि पुस र माघ महिना त पानी अवश्य परिहाल्छ भनेर गहुँ खेती गरेको हो । तर आजसम्म पानी नपर्दा कतै गहुँ समेत नउम्रेको र उम्रेको ठाउँको गहुँ पनि सुक्न थालेको छ ।”

यसैगरी लामो समयसम्म यो खडेरी रहने हो भने बर्खाको समय यो क्षेत्रमा ठुलो भोकमरीको समस्या हुन सक्ने सार्कीले बताउनुभयो । हिमपात नहुँदा पूर्वी क्षेत्रमा रहेको जिल्लाको स्वामिकार्तिक-२ कुक्तीकोटमा अधिकांश क्षेत्रमा हिउँदमा छेरेको गहुँ अहिलेसम्म नउम्रेको स्वामिकार्तिक गाउँपालिका मुक्तीकोट स्थानीय नरे लहुारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ माघमा पनि हिमपात नहुँदा सुपना फ्याल गाउँ माझबाडा फैतीवाडा लगायतका क्षेत्रका गहुँ समेत सुक्न थालेका छन् ।” जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कातिर तुसारो र सुक्खायामले बाली खाएको लहुारले बताउनुभयो ।

जिल्लाका त्रिवेणी, गौमुल बडिमालिका बुढीगङ्गा र खप्तड छेडेदह लगायतका क्षेत्रमा सिँचाइ नभएको जमिनमा हिउँदे बाली सुक्न थालेका छन् । यतीबेला मङ्सिरमा ,पुस र माघ महिनासम्म पनि पानी तथा हिमपात नभई खडेरी बढ्दै जाँदा यहाँका किसान चिन्तित बन्दै गएका छन् ।

गहुँ हिउँदे बाली भएकोले हिउँदमा वर्षा राम्रो भएन भने उत्पादन घट्छ भने हिउँदमा वर्षा राम्रो भएमा उत्पादन बढ्छ । अहिले पहिलेको तुलनामा उन्नत गहुँको बीउको प्रयोग बढ्दै गइरहेकोले गहुँको उत्पादन वृद्धि हुँदै गएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीन प्रसाद जैशीले बताउनुभयो । उहाँले भन्नुभयो, “कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिँचाइको सुविधा छ भने ८० प्रतिशत जमिनमा अहिले पनि आकाशेभरमा खेती हुने गरेको छ । जिल्लाको उत्पादन बढाई खाद्य सुरक्षामा टेवा पुग्नका लागि सिँचाइको क्षेत्र बिस्तार गर्न अति आवश्यक छ ।

बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य जमिन छ । यसमध्ये दश हजार ४६० हेक्टर जमिनमा गहुँ खेती गरिन्छ । यसमा १७ हजार ७८२ हेक्टर जमिनमा गहुँ उत्पादन हुन्छ । 

बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्ष भरीमा सिँचाइ हुने गरेको सूचना अधिकारी जैशीले बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा
व्यापारीले भनेकै मूल्यमा किसान धान बिक्री गर्न बाध्य
टीकापुर ।  कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका… विस्तृतमा