धनगढीमा यसरी सुरु भयो विश्व नेपाली साहित्य महोत्सवः राष्ट्रपतिद्वारा उद्घाटन 

Litrature Festival
Litrature Festival
February 26, 7:14

धनगढी, १४ फागुन –  नेपाली भाषा साहित्यलाई विश्वभर परिचित गराउने र विश्वका नेपाली साहित्यकारहरूको अनुभव साट्ने उद्देश्यले धनगढीमा बुधवार विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ ।
सुदूरपश्चिम साहित्य समाजको आयोजना तथा सुदूरपश्चिम प्रदेश सरकारको मुख्य प्रबद्र्धनमा आयोजित साहित्य महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् । फागुन २० गतेसम्म चल्ने महोत्सवमा विश्वभरका साहित्यकारहरुले भाग लिएका छन् । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार दार्जिलिङ, सिलुगुढी, आसाम, मेघालय, सिक्किम लगायतका ठाउँबाट साहित्यकारहरू धनगढी आएका छन् ।
महोत्सव अवधिभर विभिन्न साहित्यकार तथा आख्यानकारहरूको संवाद, कार्यपत्र प्रस्तुति, टिप्पणी, अनुभव शेयरिङ र प्रदेशका विभिन्न जातजाति र जिल्लाको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुति भइरहेको छ । महोत्सवमा ५० वटा सेसनमा करिब डेढ सय जना साहित्यकारहरूको संवाद तथा प्रस्तुति रहने कार्यसूची छ ।
उद्घाटन कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकारहरू मोदनाथ प्रश्रित, आरडी प्रभात चटौत, बद्रीनाथ भण्डारी, तुलसीराम जोशी, निर्माण व्यवसायी मदन कुँवरलाई सम्मान गरिएको छ । राष्ट्रपति भण्डारीले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरेकी थिइन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र जातजातिहरूको संस्कृति झल्किने सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो । पञ्चेबाजा, हुड्के, भुवा, होरी, छलिया, सखिया, झुम्रा, मुग्रहुवा लगायतका नाचको झाँकी प्रदर्शन गरिएको थियो । उद्घाटन कार्यक्रम सुरु हुनु पूर्व धनगढीको त्रिनगर माविबाट निस्किएको झाँकी बजार परिक्रमा गर्दै धनगढीको पुरानो एयरपोर्ट स्थित खुला मञ्चसम्म प्रदर्शन गरिएको थियो ।
नेपाली भाषा विश्वको उन्नत भाषा ः राष्ट्रपति भण्डारी 
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व नेपाली साहित्य महोत्सव उद्घाटन गर्दै नेपाली भाषा विश्वको उन्नत भाषाको रूपमा स्थापित भएको बताइन् ।
उनले महोत्सवबाट नेपाली साहित्य पनि विश्वको उन्नत साहित्यको रूपमा स्थापित गर्ने मार्ग खुलाउने बताइन् । उनले सुदूरपश्चिम प्रदेशको शैक्षिक संस्था सुदृढ गर्नुपर्ने बताइन् । ‘शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवर्द्धन गर्न मद्दत पुर्याउन्छ’ उनले भनिन्, ‘यस (सुदूरपश्चिम) क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरूलाई सुदृढ गर्नुपर्ने मैले महसुस गरेकी छु ।’
उनले सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्वर भूमि रहेको बताइन्  । उनले भनिन्, ‘पहलमानसिंह स्वार, जय पृथ्वी सिंह जस्ता अग्रज स्रष्टाहरूको अतुलनीय योगदानले नेपाली भाषा, साहित्यको शिर वृद्धि भएको छ ।’
उनले मानव जातीको अथक परिश्रमद्वारा सृजित भाषा एक आपसमा संवाद स्थापित गराउने महत्त्वपूर्ण माध्यम रहेको बताइन् । ‘साहित्य समसामयिक समाजको ऐना समेत हो’ उनले भनिन्, ‘साहित्य र समाजबिचको एक आपसमा अन्योन्याश्रित सम्बन्ध हुन्छ । साहित्यले युग युगसम्म प्रभावित पारिरहेको हुन्छ ।’
उनले नेपाली भाषा विश्वको उन्नत भाषाका रूपमा विकास भइरहेको बताइन् । उनले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्ने एक माध्यम रहेको बताइन् । उनले भनिन्, ‘नेपाली भाषा र साहित्यको संवर्धनमा  राष्ट्रले योगदान पु¥याउनु पर्दछ ।’
उनले महोत्सव विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूमा भाषिक तथा भावनात्मक एकता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसर रहेको बताइन् । ‘यो महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ट पहिचान स्थापित गर्न समेत सफलता हासिल गर्ने छ’ उनले विश्वास व्यक्त गरिन् ।
उनले साहित्यले समाजका विकृति तथा विसङ्गतिलाई औल्याउ“दै सदाचार र नैतिकतालाई प्रवर्द्धन गर्ने बताउ“दै भनिन्, ‘असल साहित्य सृजनामा साहित्यकार क्रियाशील हुन जरुरी छ ।’ 
उनले प्राकृतिक सुन्दरता र वैभव साहित्य सृजनाको महत्त्वपूर्ण आयाम भएकाले स्वच्छ वातावरण प्रवर्द्धनमा सम्बद्ध निकायको ध्यान जानुपर्ने बताइन् । ‘नेपाली भाषा, सङ्गीत, कला, साहित्य, रीतिरिवाजका पक्षपोसकहरु विश्वभरि फैलिएर रहेका छन्’ उनले भनिन्, ‘कला, सङ्गीत र साहित्यले देशभित्र विभिन्न सम्प्रदाय र समूहलाई एकतामा बा“बाँध्न  सहयोग पुर्‍याएको छ ।’
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधि सभा सदस्य नारदमुनि राना, वरिष्ठ साहित्यकार तथा शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्व मन्त्री एनपी साउद, धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
 

सम्बन्धित वर्गका समाचारहरू

चलचित्र ‘काँडेतार’को च्यारिटी-सो
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ ।  सीमा… विस्तृतमा
सहिद परिवारलाई सहयोगार्थ काँडेतारको ‘च्यारिटी सो’
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
धनगढी । थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै… विस्तृतमा
कम्युनिष्ट पार्टी, संगठनात्मक प्रणाली र अनुशासन
कम्युनिष्ट -communist_को अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “… विस्तृतमा