६ जना नेपाली सेना सहित डोटीमा थप १४ जनामा कोरोनाको संक्रमण पुष्टि
२०७७,भदौ ३०गते,मंगलबार
चक्र बलायर,डोटी
डोटीमा आज थप १४ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीको कोरोना परीक्षण प्रयोगशालामा भएको परीक्षणमा जिल्लाका थप १४ जनालाई कोरोनाको संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा ६ जना नेपाली सेना रहेका छन भने, अन्य सबै सर्बसाधारण रहेका छन ।
दिपायल सिलगढी नगरपालीकाको वडा नम्बर ४ सुल्लेक ब्यारेकमा तैनाथ गुरुबक्स गुल्ममा कार्यरत ६ जना सेनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यस अघि भदौ १६ गते सोहि गुल्ममा कार्यरत २३ जना सेनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दै कोरोना परीक्षण गर्दा थप ६ जना सेनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । उनिहरु अहिले सेनाकै आइसोलेसनमा बसिरहेको र अबस्था समान्य रहेको बताइएको छ ।
आजै दिपायल सिलगढी नगरपालीकाका वडा नम्बर ७ का २४, २४ र ३० बर्षिया ३ जना महिला र २१, २४ र २९ बर्षिय गरी ३ जना पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरि वडा नम्बर ५ का २९ बर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक गणेश भण्डारीले जानकारी दिए । आज नगरपालीका भित्र संक्रमण देखिएका सबै भारतबाट आएको बताइएको छ ।
जिल्लाको आदर्श गाउपालीकामा पनी २६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । भारतबाट आएका २९ जनाको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा अरु सबैको रीपोर्ट नेगेटीभ आएको गाउपालिका स्वास्थ्य संयोजक बम बहादुर खड्काले बताउनु भयो ।
आज १४ जना थपिए संगै डोटीमा कोरोना संक्रमितको संख्या ९ सय ८९ पुगेको छ । जिल्लामा हाल सम्म सबै भन्दा बढी शिखर नगरपालिकामा २ सय ९६ जनालाई संक्रमण पुष्टि भएको छ भने, आदर्श गाउपालिकाका १ सय ९८ जना, पुर्बिचौकि गाउपालिकाका १ सय ५८ जना, दिपायल सिलगढी नगरपालिकाका १ सय ४० जना र सायल गाउपालिकाका ८९ जनालाई हाल सम्म कोरोनाको संक्रमण पुष्टि भैसकेको छ । बोगटान फुडसिल गाउपालिकाका ३४ जना, के आई सिंह गाउपालिकाका ३१ जना, जोरायल गाउपालिकाका ३० जना र बडीकेदार गाउपालिकाका १३ जनामा कोरोनाको संक्रमण पुष्टि भैसकेको छ ।