स्वास्थ्य कार्यालय डोटीद्वारा डोटीका नौ वटै स्थानिय तहका स्वास्थ्य संयोजकहरु सम्मानित
२०७७, असोज २ गते,शुक्रबार
चक्र बलायर, डोटी
डोटीका नौ वटै स्थानिय तहका स्वास्थ्य संयोजकहरु सम्मानित भएका छन ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ अर्थात कोरोना महामारी नियन्त्रण तथा रोकथाममा महत्त्वपूर्ण योगदान दिएको भन्दै स्वास्थ्य कार्यालय, डोटीले जिल्लाका नौ वटै स्थानीय तहमा रहेका स्वास्थ्य शाखा प्रमुखहरूलाई सम्मान गरेको छ ।
कार्यालयको शुक्रबार सम्मान आर्थिक वर्ष २०७६/०७७ वार्षिक समीक्षा गोष्ठीमा उनीहरूलाई टोपी, दोसल्ला र पुष्पगुच्छाले सम्मान गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । ‘जिल्लामा स्वीकृत दरबन्दीको करिब ३५ प्रतिशत स्वास्थ्यकर्मीको पद रिक्त रहेको छ’ । जनशक्ति कम हुँदा पनि उहाँहरूले रातदिन खटेर काम गर्नु भएको छ, उहाँहरूको खटाइ सम्मानयोग्य रहेको प्रमुख मलासिले बताए ।
क्वारेन्टाइन व्यवस्थापन, स्वाब सङ्कलन, सङ्क्रमितको हेरचाह, सूचना सम्प्रेषणमा स्थानीय तहका स्वास्थ्य संयोजकहरूको महत्त्वपूर्ण भूमिका रहेको र स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा निकै समस्या भएको उहाले बताउनु भयो ।
डोटी जिल्लामा शुक्रबारसम्म एक हजार ४६ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये १ सय १३ जना अाईसोलेसनमा रहेका छन भने ९ सय ३३ जना निको भएर घर गएकाे स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।