डोटीमा करेन्टले दुबै हात गुमेका बालकको कृत्रिम हात जोड्न अाफन्तले गरे सहयोगको आग्रह
२०७७ असोज १२, सोमबार
चक्र बलायर ,डोटी
डोटीको शिखर नगरपालिका –१० वानेडुग्रिशैनका १३ वर्षीय सतीस ठगुन्नाले एक बर्षअघि करेन्ट लागेर दुबै हात गुमाएका थिए ।
दुबै हात गुमायका बालकको आर्थिक अभावका कारणले उपचारमा समस्या भएको छ। करेन्ट लागेर दुबै हात गुमाएको एक वर्ष पुग्दा सम्म पनि आर्थिक अभावले गर्दा उपचार हुन सकेको छैन ।
अहिलेसम्म झण्डै ७ लाख खर्च गरिसके पनि अझै ६० देखि ८० लाख जति खर्च लाग्ने भएपछि आर्थिक सहयोग गरिदिन उनले अपिलसमेत गरेका छन् ।
सतीसलाई २०७६ साल कार्तिक १६ गते करेन्ट लागेर दुबै हात जलेको थियो। सोही नगर पालिकामा राजेन्द्र निर्माण सेवाको पुल निर्माणकार्य भइरहेकोे ठाउमा बेबरीको फल खाने बेला करेन्ट लागेर दुबै हात जलेको उनका आफन्तको भनाइ छ।
करेन्ट लागेर घाइते भएका ठगुन्नलाई डोटी,डडेलधुरा र धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको उनकी आमा बिस्नादेबी ठगुन्नाले बताइन् ।
उनको काठमाडौंको कीर्तिपुर अस्पतालमा एक महिना उपचार गरियो । उपचारकै क्रममा करेन्ट लागेका दुई वटै हात काटिएको बिस्नाले बताइन् ।
दुबै हात हाल्न अस्पतालले ठूलो धनराशि खर्च हुने भनेपछि निराश हुँदै दुबै हात गुमाएका बाबु लिएर घर फर्किएको उनका काका राजेश ठगुन्नाले बताए ।
उनले भने, ‘कृतिम हात हाल्न ६० देखि ८० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ,यति ठूलो रकम कहाँबाट जुटाउने ? समस्या भएको छ।’
उनले उपचारका लागि सहयोगको याचना गरे । ‘देश विदेशबाट मनकारी व्यक्तिले उपचारका लागि आर्थिक सहयोग गर्यो भने उपचार सम्भव हुने थियो,’ उनले भने ।
बिस्नाका पति योगेन्द्र ठगुन्ना रोजगारीका लागी भारत गएको ७–८ बर्षदेखि बेपत्ता छन् । अहिलेसम्म उनी सम्पर्कविहीन छन् ।दुई छोराको लालनपालनको जिम्मा पनि उनकै काँधमा छ। अहिले उनी छाक टार्न र छोराको दुबै हात जोड्ने झिनो आस लिएर गिट्टी कुट्ने, मजदुरी लगायतका काम गरिरहेको बताउँछिन् ।
पति सम्पर्कविहीन भएको ७–८ बर्ष भयो भन्दै निन्याउरो मुद्रामा आफ्नो पीडा सुनाउदै उनले रुदै भनिन्, ‘अब छोरा पढाइमा नि राम्रो छ । म निराश हुदा भोलि ठुलो मान्छे बनेर केही गर्छु आमा भनेर सम्झाउथ्यो । आज सतीशको दुबै हात गुमाएको देख्दा मलाई भगवानले पनि ठुलो पिडा दिएको छ ।’
उनी भन्छन्, ‘प्रारम्भिक उपचारमा राजेन्द्र निर्माण सेवाले सात लाख शिखर नगरपालिकाले काठमाडौं सम्मको यातायात खर्च सहयोग गरेर उनको ज्यान त जोगियो । तर अहिले बाचेको बाबुको हात जोड्ने सपना अधुरो रहेको छ ।’ उनले थपिन्, ‘म हुन्जेलत त सतीसलाई खाना खुवाउन, दिसापिसाब गर्न, सरफाई गर्न सहयोग गरौंला । म मरेँ भने भोलि यति पनि कोले गर्ला ।’ उनले गह भरी आँसु निकाल्दै पीडा पोखिन् ।
सतिस सिद्धेश्वर आधारभुत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । दुबै हात गुमेका कारण उनी लामो समयदेखि विद्यालय जान सकेका छैनन् । सतीस भन्छन्, ‘मेरो हात जोडिएको भए म बाचेको पनि सार्थक हुने थियोे । भएको दुबै हात गुमाउँदा अँध्यारोको जिन्दगी व्यतित गरिरहेको छु ।’
कृतिमा हात जोड्नको लागि सहयोग गरिदिन सबैमा सतीसले अपिल गरे।