कांग्रेस पदाधिकारी बैठक स्थगित, शुक्रबार दिउँसो २ बजे बस्ने
काठमाडौं, असार ३१
नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । आज बस्ने भनिएको प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको व्यस्ततापछि नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले नेताहरुको कार्यव्यस्तताको कारण बैठक स्थगित भएको जानकारी दिएका हुन । भोलि शुक्रबार दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने छ,” कांग्रेस मुख्यसचिव पौडेलले भने ।
बैठक स्थगित गराएर देउवा मन्त्रिपरिषद् विस्तार र आफ्नो सरकारलाई विश्वासको मत प्राप्त गर्ने वातावरण बनाउन आन्तरिक एवं बहुपक्षीय छलफलमा लागेका छन् ।
सर्वोच्च अदालतको परमादेशपछि यही असार २९ गते प्रधानमन्त्री बनेका देउवाले कांग्रेस र माओवादीबाट दुईदुई जना सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद बनाएका छन् ।
कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि बाँकी मन्त्रीमा क–कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ । मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि नाम टुङ्गो लगाउन देउवालाई कठिन हुने देखिएको छ ।
देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफलबाटै क–कसलाई मन्त्री बनाउने टुंगो लगाउने बचन दिएका थिए । सबै पक्षलाई समेटेर मन्त्री बनाउनु पर्ने भएकाले यसमा सबैलाई चित्त बुझाएर निष्कर्षमा पुग्न उनलाई सहज छैन ।
यसअघि भदौमा हुने पार्टीको १४ औैं महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न भन्दै आज दिउँसो २ बजे बैठक बोलाइएको थियो । शुक्रबार बस्ने बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरुबीच छलफल गर्ने तयारी छ ।
यस्तै पदाधिकारी बैठकमा पार्टीको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे छलफल गर्ने कार्यसूचि रहेको थियो । कांग्रेसले भदौ १६–१९ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।