प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ,साउन ३
नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ। सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्नअघि नेकपा एमालेको स्थायी कमिटी बैठक बस्न लागेको हो ।
सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापनापछि पहिलोपटक आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ। उक्त बैठकअगाडि एमालेले स्थायी कमिटी बैठक राखेको हो ।
एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आज ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने जानकारी दिएका हुन ।
शुक्रबार एमालेले स्थायी कमिटी र संसदीय दलको बैठक राखेको थियो। यी दुबै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल उपस्थित भएका थिएनन्। भंग गरिएको कार्यदलका सदस्यहरू भने बैठक रोक्न माग गर्दै पुगेका थिए।
एमालेले सोमबार बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको थियो। आजको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा छलफल हुने एजेन्डा तय गर्ने सम्भावना छ।
कार्यालय सचिव तामाङका अनुसार बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्नेछ । एमालेले केन्द्रीय कमिटी बैठक सोमबार डाकेको छ ।
पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ । तर कार्यदलको सहमतिअनुसार वरिष्ठ नेता माधव कुमार नेपालसँग सल्लाह गरेर मात्रै बैठक डाक्न सो समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका छन् ।
तर अध्यक्ष ओलीले कार्यदलको सहमतिलाई अनुमोदन गरेर अघि बढेकाले अब बैठकमा सहभागी भएर पार्टी काममा लाग्ने बाटो खुलेको जवाफ दिएका छन् । सहमतिका लागि भन्दै पार्टीको बैठक अब नरोकिने उनले अडान लिएका छन् । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।