अग्निप्रसादले गति र मति छाड्दा संसद् घाइते
काठमाडौं । नेपालको इतिहासमा संघीय संसद्को प्रतिनिधि सभाका सभामुखका कारण पहिलो पटक बैठक रोकिएको छ । हत्या अभियोगमा मुद्दा खेपिरहनुभएका सभामुख अग्निप्रसाद सापकोटालाई संसद्ले सहँदै आएको थियो । तर, पछिल्ला दिनमा अग्निप्रसादले निर्वाह गर्नुभएको डरलाग्दो राजनीतिक अपराधीको भूमिकालाई भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले नसहने भएको छ ।
आज प्रतिनिधि सभाको पहिलो बैठकमा गैरसांसद्लाई उपस्थित गराएको भन्दै नेकपा एमालेले अवरोध गरेको हो । प्रतिनिधि सभा बैठकमा गैर सांसद्लाई उपस्थित गराउन मिल्दैन । यही कारण एमालेले वैठक अवरोध गरेको हो । एमालेले आफ्ना १४ जना सांसद्लाई पदबाट हटाउने निर्णय सहितको पत्र भदौ १ गते संसद् सचिवालयमा दर्ता गराएको थियो ।
सांसद्लाई पार्टीले आफूखुसी हटाउन सक्दैन, ठोस कारण सहित मात्र हटाउन सक्छ । पार्टीको निर्देशन अर्थात् व्हीप उल्लंघन गरेमा सांसद्लाई पार्टीले हटाउन सक्छ । व्हीप उल्लंघन गर्दा प्रतिनिधि सभाको यही कार्यकालमा पनि केही सांसद्को पद खारेज भइसकेको छ । माओवादी केन्द्रका चार जना र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादीका एकजना सांसद्को पद व्हीप उल्लंघनमा खारेज भएको थियो । यही नजीरका आधारमा एमालेका १४ जना सांसद्को पद पनि खारेज हुनुपर्ने थियो । तर, सभामुखले पदीय मर्यादा विपरित माओवादीको कार्यकर्ता बनिदिँदा १४ जना सांसद् पदमा यथावत छन् ।
सभामुख अग्निप्रसादले संविधान तथा पदीय मर्यादा विपरित गएर १४ जनाको पद अहिलेसम्म खारेज गर्नुभएको छैन । सभामुख सापकोटा माओवादी केन्द्रबाट सांसद् निर्वाचित हुनुभएको थियो । सभामुखले राजनीतिक दलमा नबसेर तटस्थ भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यो कारण अग्निप्रसादले पार्टीबाट राजीनामा दिइसक्नुभएको छ । पार्टीबाट राजीनामा गरे पनि सभामुखले माओवादीको चौवन्नी कार्यकर्ता सरह भूमिका निर्वाह गर्दा प्रतिनिधि सभा समस्यामा परेको हो ।
व्हीप उल्लंघनमा एमालेले हटाउने निर्णय गरेको १४ सांसद्मा माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, नीरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी हुनुहुन्छ ।
१४ सांसद् गत बैशाख २७ गत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुँदा अनुपस्थित भएका थिए । त्यसबेला एमालेले प्रतिनिधि सभा बैठकमा अनिवार्य रुपमा उपस्थित भएर विश्वासको मत दिन व्हीप जारी गरेको थियो । पार्टीको व्हीप विपरित ती सांसद् अनुपस्थित भएका थिए । ती सांसद्लाई अहिलेसम्म नहटाएको, बैठकमा उपस्थित गराउन सभामुखले षडयन्त्र गरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।
विगतमा प्रतिनिधि सभाका सभामुखहरु यदाकदा विवादमा परे पनि निष्पक्ष भूमिकाको मामिलामा चोर औंला ठडाउनुपर्ने गरी अहिलेसम्म कसैले हर्कत गरेका थिएनन् । अग्निप्रसाद सापकोटाले भने सभामुख पदको गरिमा र प्रतिष्ठामा कालो धब्बा लगाउँदै कसैको राजनीतिक लाभहानीका लागि निकृष्ट भूमिका निर्वाह गर्नुभएको आरोप लाग्दै आएको छ ।