गौरीगङ्गामा युवाहरूले देखाए लैङ्गिक हिंसा न्यूनीकरणका लागि सडक नाटक
भदौ २७ सुखड ।
कैलालीको गौरीगंगा नगरपालिका ८ बढैपुरमा लैङ्गिक हिंसा न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको छ । पारस्परिक जबाफदेहिता परियोजना मार्फत समुदायमा गठन गरीएको खप्तड रेडियो श्रोता समूहले बजारमा नाटक प्रदर्शन गरेको हो ।“लैङ्गिक हिंसा र दुर्व्यवहार छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ गाउँ घरमा हुने छुवाछुत, लैङ्गिक हिंसा अन्त्यका विषयमा सडक नाटक गरीएको थियो ।
नेपाली समाजमा बढ्दो छुवाछुत, महिला हिंसालाई न्यूनीकरण गर्ने उद्देश्यले सडक नाटक प्रदर्शन गरीएको थियो । नेपाली समाजका महिलाहरूले हरेक दिन भोगिरहेको समस्यालाई नाटकको रुपमा प्रदर्शन गर्न खोजिएको थियो । साथै सडक नाटकमा छुवाछुत, छोरा छोरीमा भेदभाव,सासूले बुहारीलाई दिने हिंसा र ऐन कानुनमा तोकिएको सजाएको बारेमा विषय समेटिएको थियो ।
सडक नाटक हेरे पश्चात् वडा नम्बर ८ का वडा सदस्य ठेकराज चौधरीले गाउँघरमा हुने गरेका छुवाछुत, घरेलु हिंसा बाहिर आउन नसकेको बेला उक्त सडक नाटकले हिंसाका पीडितलाई कानुनी न्याय र दोषीलाई सजाय दिलाउन सहयोग पुग्ने बताए । नाटक हेरेर आफू एक दमै प्रभावित भएको बताउँदै उनले समाजमा हरेक दिन घट्ने घटनाहरूलाई बोलेर वा भाषणको शैलीबाट भन्दा पनि नाटक प्रदर्शनको माध्यमबाट चेतना बढ्ने उनले बताए । सडक नाटकको माध्यम बाट जनचेतना फैलाउले काम भएको वडा सदस्य ठेकराज चौधरीको भनाई छ ।
प्रदर्शन गरिएको सडक नाटकमा लैङ्गिक हिंसाको प्रकृति, त्यसको प्रभाव, कानुनी उपचार र लैङ्गिक हिंसा अन्त्यको लागि सरोकारवालाहरूले खेल्नु भूमिकाको बारेमा अभिनय मार्फत जानकारी गराइएको थियो । सडक नाटक मार्फत लैङ्गिक हिंसा न्यूनीकरणको लागी केही सहयोग पुगोस् भनेर कार्यक्रम गरेको खप्तड रेडियो श्रोता समुह सहजकर्ता जीवन कडेंलले बताए । विगतमा पनि यस्ता रचनात्मक कार्यक्रम गर्दे आएर आगामी दिनमा पनि कार्यक्रमहरूलाई निरन्तरता दिने उनले बताए ।