एक वर्षमा गौरीफन्टा–गड्डाचौकीबाट साढे ४ लाख नागरिक रोजगारी खोज्न भारत गए

Bharat
Bharat
September 22, 2:39

महेन्द्र बम,
धनगढी - २० वर्षदेखि भारत जान थालेका अछामको ढकारी गाउँपालिकाका भैरे कामी १८ वर्षका छोरा अर्जुनलाई पनि साथमै लिएर गत साता भारत पसे । गत जेठमा कोरोनाले भारतको महाराष्ट्रमा ७ वर्षदेखि गर्दै आएको होटेलको रोजगारी गुमेपछि नेपाल आएका उनी अहिले फेरी भारत गएका हुन् । ‘अर्काको देशमा काम गर्छौँ’, उनले मलिन स्वरमा भने, ‘रोजगारी कति बेला गुम्छ भन्ने थाहा हुँदैन । गत जेठमा घर आउने स्थिति थिएन । तर कोरोनाले होटेल नै बन्द भएपछि ‘सेट’ले घर पठाइदियो ।’ उनले अगाडि थपे, ‘अर्काको देशमा भोग्नुपर्ने अवहेलना देख्दा अब भारत फर्किनु नपरोस् भनेर घर आएको थिए । तर गाउँमा बसेर परिवार पाल्नलाई न त रोजगारी पाइन्छ न कमाई गरिखान जग्गा–जमिन छ ।’ स्थानीय तथा प्रदेश सरकारले स्वदेशमै रोजगारी दिन्छौँ भनेर गरिएका प्रतिबद्धता र बाचाहरू उनी जस्ता लाखौँ सुदूर पश्चिमेलीका लागि कोरा आश्वासन मात्रै बनेका छन् । महामारीले अवस्था जटिल बन्दै गएपछि भारतबाट आएका ९ हजार जनालाई रोजगारी दिने सुदूरपश्चिम सरकारको योजना अलपत्र छ । भैरे कामीको घरमा एक छोरा, एक छोरी, श्रीमती र आमाबुबा छन् । सँगै रोजगारी गर्न पहिलोपटक भारत जान लागेका अर्जुन गत वर्ष एसइई उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययनको पर्खाइमा थिए । ‘गत जेठमा काम बन्द नभएको भए यो छोरालाई पनि उच्च शिक्षा पढाउन सकिन्थ्यो होला’, अर्जुनलाई देखाउँदै उनले भने, ‘अब घरमा परिवार पाल्न र दुई छोराछोरी पढाउन पनि पैसाको जोहो गर्न मुस्किल छ । यसलाई कसरी पढाउनु ? आफू पढ्न नपाए पनि आफ्ना भाइ बैनीलाई त पढाउला ! भनेर सँगै लैजान लागेको ।’ यति कुरा गरिसकेपछि मुगलान जानेको भीडमा पसे भैरे कामीका बुबा–छोरा ।
गत चैतमा भारतबाट रोजगारी गुमेपछि घर आएका डडेलधुराको भागेश्वर गाउँपालिकाका पुष्कर पार्की पनि अहिले फेरी भारत पसेका छन् । उनी कोरोना महामारीकै बिचमा यस अघि २ पटक नेपाल आएर तेस्रो पटक भारत जान लागेका हुन् । परिवार पाल्न भनेर विगत साढे ४ वर्षदेखि भारत जान थालेका उनले कोरोना आए देखि भने भारत आउजाउ गर्ने आफ्नो खर्च समेत त्यहाँको रोजगारीले जुटाउन सकेका छैनन् । ‘ऋण काढेर भारत जानुपर्छ ।’ उनले भने, ‘कोरोनाले बस्न नदिए पछि फेरी नेपाल फर्कनुपर्छ । घरमा बस्न पनि कमाइ–जमाइ केही नभए फेरी भारत जानुपर्छ । यस्तै त हो गरिबको जिन्दगी । स्वदेशमै रोजगारी भइदिएको भए सायद यस्तो समस्या झेल्नुपर्थेन होला ।’सरकारले रोजगारी दिने भनेको सुनेर पछिल्लो पटक चैत्रमा उनी घर आएका थिए । तर अहिले रोजगारीका नाममा सरकारले झुटा आश्वासन बाडेको रहेछ भन्दै उनी फेरी मुगलान पसेका हुन् । ‘स्थानीय तह र प्रदेशमा पनि रोजगारी पाइने कुरा थियो’, उनले भने, ‘भारतमै हुँदा सुनेको, हाम्रो पीडा सरकारले पनि बुझेछन्, भनेर आएको तर यहाँ के को रोजगारी पाइन्थ्यो ? आफ्ना नजिकका चिने जानेका पहुँचवालाले काम पाउँछन्, हाम्रा लागि त परदेशी बन्नु नै लेखेको रहेछ ।’
सुदूरपश्चिमको प्रमुख रोजगार गन्तव्य भारत हो । तर भारत जाने र आउने सीमा नाकाहरूको उपयुक्त व्यवस्थापन हुन नसक्दा आउजाउमा नागरिकले निकै सास्ती बेहोर्नु परेको छ । पहिलो लहरको कोरोना कालमा त झन् नेपाल आउने सीमा नाका बन्द गरिएपछि बझाङकी पूजा नेपालीले सीमावर्ती क्षेत्र भारत पलियाको बलदेव वैदिक इन्टर कलेजको क्वारेनटिनमै बच्चा जन्माउनुपरेको, महाकालीमा हाम फालेर नेपाल आउनुपरेको जस्ता दुख नागरिकले झेल्नु परेको थियो । भारतमा रोजगारी गर्न जाने नेपालीले आम समयमै पनि आउजाउमै निकै सास्ती खेप्नुपर्छ । अहिले झन् कोरोना महामारीमा त्यो समस्या विकराल बनेको उनीहरू बताउँछन् ।

एक वर्षमा गड्डाचौकी–गौरीफन्टाबाट झन्डै ९ लाखले गरे ओहोरदोहोर

भारतको दिल्ली जान लागेका कैलालीको गौरीगङ्गाका रमेश बुढा पहिले भन्दा अहिले समस्या झन् बढेको बताउँछन्, । ‘गत वर्ष वैशाखमा घर आएर भदौमा भारत गएको थिए’, उनले भने, ‘यो वर्ष चैत्रमा आएर अहिले फेरी भारत जान लागेको हु । भारतमा ‘नोकरी’ गर्न जान थालेको १९ वर्ष भयो । सरकारले विना धितोमा ऋण दिन्छौँ भनेर आएका हौँ । तर जुन बैङ्कमा गए पनि त्यसरी ऋण नपाएपछि लाग्यो यो देशमा गरिबले गरिबै भएर बस्नु रहेछ । हामीले भारतमै गएर परिवार पाल्नुपर्ने रहेछ ।’ अहिले नेपाल तर्फका तथा भारतका यातायात व्यवसायीले आउजाउमा चर्को भाडा असुल्ने र सीमा नाकामा भारतीय सुरक्षाकर्मीले अनावश्यक दुख दिने गरेको उनको गुनासो छ । ‘भारतमा भारतीयले त लुट्थे लुट्थे अहिले लकडाउनले आफ्नै नेपाली दाजुभाइले समेत लुट्न थाले ।’ उनले गुनासो पोख्दै भने’, ‘घर देखि यहाँसम्म पुग्न पहिले भन्दा दोब्बर भाडा लिए । फेरी यहाँ पनि पहिलेको भन्दा दुई गुण बढी भाडा लिएर नाकामा टिकट नदेखाउनु भन्दै पठाएका छन् ।’ अहिले नेपाल तर्फका तर भारतका विभिन्न सहरमा पठाउने यातायात व्यवसायीहरूले यात्रुसँग मनलाग्दी भाडा असुलेर मुगलान पठाउने गरेका छन् ।
अनौपचारिक क्षेत्रमा सस्तो श्रम बेच्नु पर्ने बाध्यता
सुदूरपश्चिमबाट रोजगारीका लागि भारत जोनहरूको सङ्ख्या अधिक त छ तर ती सबै विना सीप भारत जाने गर्छन् । जसले गर्दा न मागेको पारिश्रमिक पाइन्छ, न त परिश्रमको सम्मान । ‘सुदूरपश्चिमबाट ७० प्रतिशत घरधुरीको प्रति परिवार एक जना भातमा छन्’, आप्रवासनको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था निड्स नेपालका कार्यक्रम प्रबन्धक प्रकाश मडै भन्छन्, ‘त्यसमा ९८ प्रतिशत सीप नै नसिकेर जाने हुनाले भारतमा उनीहरूले सस्तैमा श्रम बेच्नुपर्ने बाध्यता छ । नेपालीहरूले भारतमा औपचारिक क्षेत्रमा कहीँ पनि काम पाउँदैनन् । सबै अनौपचारिक क्षेत्रमा काम पाउने हुँदा उनीहरूसँग नियुक्ति पत्र, करारनामा केही पनि हुँदैन । त्यसो हुँदा कामको सुनिश्चिततामा उसको अधिकार हनन भए पनि प्रमाण नै नभए पछि कानुनी उपचार खोज्ने बाटो नै हुँदैन । जस कारण भारतको रोजगारी सुरक्षित नहुँदा नहुँदै पनि जानुपर्ने बाध्यता बनेको छ ।’ उनले अगाडी थपे’, ‘भारतमा सस्तोमा श्रम किन्न पाउने रोजगार दादाले नेपालीहरूको हक हितका लागि बोल्ने कुरै भएन, त्यसैले तेस्रो मुलुक सरह नेपाल सरकारले नै कुनै न कुनै मापदण्ड बनाएर नेपालीलाई त्यहाँ बस्न अव्यवस्थित बनाउने गरी पहल गर्नु पर्दछ । त्यसमा राहदानी नै चाहिन्छ भन्ने होइन, अन्य विकल्पका विषयमा सरकारले जागरूक बन्न आवश्यक छ ।’

गत वर्ष भदौ १० गते देखि७८ भदौसम्म गौरीफन्टाबाट १ लाख ८२ हजार ९३ जना र गड्डाचौकीबाट २ लाख ६६ हजार ७७ जना गरी जम्मा ४ लाख ४८ हजार १ सय७० जना नेपाल आएका छन् भने ३ लाख ३७ हजार ८ सय ७४ गौरीफन्टाबाट र १ लाख १३ हजार ९ सय ३६ गड्डाचौकीबाट गरी कुल ४ लाख ५१ हजार ८ सय १० जना रोजगारी खोज्न भारत गएका छन् ।

गत वर्ष भदौ १० गते देखि७८ भदौसम्म गौरीफन्टाबाट १ लाख ८२ हजार ९३ जना र गड्डाचौकीबाट २ लाख ६६ हजार ७७ जना गरी जम्मा ४ लाख ४८ हजार १ सय७० जना नेपाल आएका छन् भने ३ लाख ३७ हजार ८ सय ७४ गौरीफन्टाबाट र १ लाख १३ हजार ९ सय ३६ गड्डाचौकीबाट गरी कुल ४ लाख ५१ हजार ८ सय १० जना रोजगारी खोज्न भारत गएका छन् । भारतमा कोरोना महामारीको ग्राफ उकालो लागेको ठिक एक महिनापछि नेपालमा पनि त्यसको असर पर्ने गरेको छ । गत चैत्रको पहिला साता गौरिफन्टा नाकामा भारतबाट आउनेको कोरोना परीक्षण गर्दा पहिलोपटक नयाँ भेरियन्टको कोरोना देखिएको थियो । त्यसैलाई दोस्रो लहर मान्ने हो भने दोस्रो लहरको कोरोना कालमा गौरिफन्टा सीमा नाकाबाट मात्रै चैत्रमा २३ हजार ६ सय ६७, वैशाखमा २६ हजार ५ सय १९, जेठमा १९ हजार १ सय ५, असारमा ९ हजार ५ सय २८ र साउनमा १२ हजार ८ सय ४ गरी जम्मा ९१ हजार ६ सय ८८ जना नेपाल आएका गौरीफन्टा सीमा स्वास्थ्य सहायता कक्षका हेल्थ इन्चार्ज दिनेश ठकुल्लाले बताए । भारतमा संक्रमण फैलिए पनि नेपाल आउने र फेरी केही महिनामा नै उनीहरू काम खोज्न भारत जाने क्रम तीव्र हुने उनको भनाई छ । ‘चैत्रमा कोरोना संक्रमण भारतमा उच्च बनेपछि नेपालीहरू घर फर्किने क्रम तीव्र बनेको थियो ।’ उनले भने, ‘अब उनीहरू भारत फर्किने क्रम तीव्र बनेको छ ।’ साउनमा मात्रै गौरीफन्टा नाकाबाट झन्डै ५८ हजार मानिस रोजगारी खोज्दै भारत गएका छन् । ‘जेठसम्म आउनेहरू बढेका थिए । असारमा आउने जानेको सङ्ख्या बराबर हुँदा साउनमा भने जानेहरू बढेका हुन् । एक महिनामै ५७ हजार ९ सय ३१ जना भारत गएका छन् ।’ ठकुल्लाले भने ।

उता गड्डाचौकी सीमा नाकाबाट चैत्रमा २२ हजार ३ सय १३, वैशाखमा १७ हजार ५ सय ८६, जेठमा ४ हजार ७६, असारमा १० हजार २ सय ४१, साउनमा ८ हजार ७ सय २८ जना गरी जम्मा ६२ हजार ९ सय ४४ जना नेपाल आएका छन् । यो नाकाबाट रोजगारी खोज्ने सिलसिलामा साउनमा मात्रै ११ हजार ४० जना भारत गएका छन् । यी दुई सीमा नाकाबाट नेपाल आएका डेढ लाख मध्य हालसम्म ५४ हजार ३ सय २८ जनाको कोरोना परीक्षण गर्दा २ हजार ७ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सीमा नाकाबाट आउजाउ गर्दा हुने सास्ती व्यवस्थापनमा तीन तहकै सरकारले ध्यान नै नदिने गर्नाले नेपालीहरूले बढी दुख पाउने गरेका छन् । दोस्रो लहरको कोरोना कालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रवेश गर्ने सबैको अनिवार्य स्वास्थ्य परीक्षण गरी व्यवस्थित रूपमा समुदायसम्म पु¥याउन पटक पटक निर्देशन जारी गरे । तर उनको निर्देशन उनकै मातहतका मन्त्री र कार्यालयले पालना नगर्दा नेपाल आएका झन्डै ३० प्रतिशत नागरिकले मात्रै सीमामा स्वास्थ्य परीक्षण गराउन पाए । यसरी कोरोना परीक्षण विनै नेपाल आएका अन्य एक लाख मानिस मार्फत दोस्रो कोरोनाले भयावह स्वरूप लिएको थियो । ‘पहिलो लहरमा जस्तो सुदूरपश्चिमका स्थानीय तहहरूले सीमा नाकाको व्यवस्थापन गरी नागरिकलाई स्वास्थ्य परीक्षण पछि मात्रै समुदायमा पठाउने र क्वारेन्टिन तथा आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन नसकेको अथवा नगरेकै कारण दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशका हरेक टोल र समुदायमा कोरोना पुगेको हो ।’ सुदूरपश्चिमका स्वास्थ्य निर्देशक गुणराज अवस्थीले भने, ‘त्यसैले अब पहिले जस्तो लापरबाहीमा बस्न मिल्दैन । सबैले सीमा नाकाहरूको व्यवस्थापनको तयारीमा जुट्न अति आवश्यक छ ।’

सरकारकै गैर जिम्मेवारीका कारण दोस्रो लहरको कोरोना कालमा अक्सिजन नपाएर नागरिकले ज्यान गुमाउनुपरेको नागरिक अगुवाहरूको भनाई छ । ‘सरकारले अरू केही गर्नुपर्दैन थियो ।’ नागरिक समाज कैलालीका अगुवा प्रमोद पाठकले भने, ‘दोस्रो लहरको कोरोना कालमा सीमा नाकाको व्यवस्थापन, सीमामा अनिवार्य स्वास्थ्य परीक्षण, आफ्नो देश आउने नागरिकलाई व्यवस्थित रूपमा होल्डिङ्ग सेन्टर र क्वारेन्टिनमा राखेको भए यत्रो महामारी भोग्नुपर्ने नै थिएन ।’ उनले अगाडी भने, ‘तर हाम्रा देशका नेताहरूलाई के मतलब जनता मरुन् या बाँचुन् ? उनीहरूलाई त केवल सत्ता र कुर्सी प्यारो न हो ।’ भारतबाट आउने मासिनको उपयुक्त व्यवस्थापन हुन नसक्दा सुदूरपश्चिममा दोस्रो लहरको कोरोना कालमा ३१ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो लहरको कोरोना ग्राफ लगभग शून्य भइसकेको अवस्थामा गत चैत्रबाट सुदूरपश्चिममा नयाँ भेरियन्टको कोरोना देखिन सुरु भएको थियो । सुदूरपश्चिममा कोरोना सङ्क्रमणका प्रमुख आयात केन्द्र जस्तै रहेका सीमा नाकाबाट आउने मासिनलाई व्यवस्थित रूपमा ल्याउन नसक्दा दोस्रो लहरमा चैत्रयता सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणबाट ५ सय २४ जनाको मृत्यु भएको छ ।
अब तेस्रो लहरको जोखिम
एकै महिना पछिल्लो साउनमा मात्रै गौरिफन्टा–गड्डाचौकी सीमा नाकाबाट भारत गएका मानिसको तथ्याङ्क हेर्दा भारतमा कोरोना सङ्क्रमण भयावह बनेपछि फेरी सुदूरपश्चिमको अवस्था पनि अहिलेकै तयारीले मात्रै जटिल बन्ने देखिएको स्वास्थ्यकर्मीहरूको भनाई छ । ‘सीमा नाकाहरूको व्यवस्थापन पहिलो र महत्त्वपूर्ण पाटो हो ।’ सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. नीराजनदत्त शर्मा पौडेलले भने, ‘यदि हामीले दोस्रो लहरमा गरिए जस्तो सीमा नाकाको व्यवस्थापनमा लापरबाही गरिरहने हो भने तेस्रो लहर त के भाइरसका जति भेरियन्ट आउँछन् ती सबैबाट हामी नराम्रोसँग प्रभावित हुन्छौँ नै । होइन यदि दोस्रो लहरबाट पाठ सिकेर अघि बढ्ने हो भने अब तेस्रो लहर भित्रिन नदिन पूर्व तयारीमा जुटिहाल्नुपर्ने समय आइसकेको छ ।’ भाइरस संक्रमण रोकथामका लागि संक्रमण सुरु भए पछि भन्दा अघिबाटै तयारी गरेर बस्न अति जरुरी रहेको उनको भनाई छ ।
नागरिक समाजका अगुवा प्रमोद पाठकले पनि तीन तहकै सरकारले व्यवस्थापनमा जुट्न अति जरुरी रहेको बताए । ‘पहिलो लहरको कोरोना कालमा स्थानीय तहको सक्रियताले भाइरस सङ्क्रमणको असर कम देखिएको थियो ।’ उनले भने, ‘तर दोस्रो लहरमा सरकारहरू त्यसरी जिम्मेवार बन्न नसक्दा स्थिति नियन्त्रण बाहिर गएको हो । अब अहिले देखिनै तयारीमा जुट्नुपर्ने आवश्यकता देखिएको छ ।’ सुदूरपश्चिममा पहिलो लहरको कोरोना कालमा ५६ जना सङ्क्रमितले ज्यान गुमाएका थिए । पहिलो लहरमा ८८ वटै स्थानीय तहले भारतबाट आउने मानिसलाई क्वारेन्टिनमा राखेर पनि दोस्रो लहरमा सीमाबाट अव्यवस्थित रूपमा सिधै समुदायसम्म पुगेका थिए ।
सुदूरपश्चिमबाट पुरुषसँगै महिला पनि भारतमा रोजगारीका लागि जाने क्रम उच्च छ । त्यसैले अब सीमा नाकाको व्यवस्थापन गरिँदा महिलामैत्री होल्डिङ्ग सेन्टर, आइसोलेसन र क्वारेन्टिन बनाउनुपर्ने महिला अधिकारकर्मी गोमा आचार्य जोशीले बताइन् । ‘महिलामैत्री बन्न नसकेकै कारण कैलालीको लम्की चुहामा एक किशोरीले क्वारेन्टिनमै बलात्कृत हुनुपरेको जस्ता घटना हामी सामु जगजाहेर नै छन् ।’ उनले भनिन्, ‘त्यसैले अब सरकारहरूले बनाउने क्वारेन्टिन महिलामैत्री र बालमैत्री बन्न जरुरी छ । किनकि सुदूरपश्चिमबाट लालावालासहित रोजगारीका लागि भारत जानेहरूको सङ्ख्या उच्च छ ।’ दोस्रो लहरमा सुदूरपश्चिम प्रदेशमा ९ वर्ष मुनीका ६ सय ६ बालक तथा १ सय ९४ बालिका गरी हालसम्म ५ महिनायता ८ सय बालबालिका कोरोना प्रभावित भएका छन् । ‘भाइरसले भेरियन्ट फेर्दै जाने र ती परिवर्तित भेरियन्टको सक्रियता पहिलेको भन्दा वृद्धि हुँदै जाने हुनाले त्यसले बालबालिकालाई बढी असर पर्ने जोखी सुदूरपश्चिममा बढी छ ।’ सेती प्रादेशिक अस्पताल धनगढीका बाल रोग विशेषज्ञ डा प्रदीप मिश्रले भने, ‘हाम्रो प्रदेशमा भारत आउने–जानेमा आमाबुबासँगै आश्रित बालबालिकाको सङ्ख्या पनि उच्च रहेकाले हामीले भारतबाट आउने संक्रमित बालबालिकाको व्यवस्थापनलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । उनीहरूलाई सीमामा स्वास्थ्य परीक्षण पश्चात् कसरी व्यवस्थापन गरेर अस्पताल वा आइसोलेसन केन्द्रसम्म पु¥याउने र त्यहाँ राख्दा कसी राख्ने भन्ने विषय महत्त्वपूर्ण हुन्छ ।’ उनले अगाडी थपे, ‘साथै जनचेतनाको पाटोलाई समेत प्राथमिकता दिएर सङ्क्रमितलाई नेपाल नै आउन नदिने, समुदायमा नै जान नदिने भन्दा पनि सुरक्षित र व्यवस्थित बनाउन तिर लाग्न जरुरी छ ।’
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले पनि तेस्रो लहरको कोरोना सङ्क्रमणको सम्भावित जोखिम रोकथामका लागि सरकारले पहलकदमी गरिरहेको बताएको छ । ‘हामी भारतसँग प्रत्यक्ष खुला सीमामा जोडिएका हुनाले भारतमा असर पर्ने बित्तिकै अन्य प्रदेश भन्दा सुदूरपश्चिम सबैभन्दा बढी प्रभावित हुन्छ भनेर हिजोको सिकाइ भएको छ ।’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले भने, ‘त्यसैले अब हामी सीमा नाका देखि लिएर पोस्ट कोभिडको परामर्शसम्म काम गर्नुपर्छ भनेर द्रुत कार्य योजना तयार भइसकेको छ । त्यो क्याबिनेटबाट पारित हुने बित्तिकै काम सुरु हुन्छ ।’ अब सीमा नाकाको व्यवस्थापनका लागि बन्ने हरेक संरचना महिला र बालमैत्री समेत बनाइने उनले बताए । ‘हामीले भारतबाट महिला तथा बालबालिकाको आउजाउ बढी हुने हुनाले र तेस्रो लहरमा बालबालिका तथा १८ वर्षमुनिका किशोर किशोरी बढी प्रभावित हुनसक्ने आँकलनलाई मध्यनजर गरेर सीमामा तयार हुने होल्डिङ्ग सेन्टर देखि समुदायका क्वारेन्टिन अनिवार्य बाल तथा महिला मैत्री बनाउनुपर्ने र सेती, महाकाली तथा टीकापुर अस्पतालमा गरी क्रमशः ४० र २५÷२५ गरी ९० बेड बालमैत्री बनाउनुपर्ने अस्पतालहरूलाई निर्देशन जारी गरेका छौँ ।’ यसका साथै पहाडी ७ जिल्लाका अस्पतालहरूले १० बेड बालमैत्री अनिवार्य बनाउनुपर्ने कार्कीले बताए । ‘हाम्रो अब सुरु हुने काममा सुरुमा सीमा नाकाबाट सुरुवात हुन्छ ।’ उनले भने, ‘सीमा नाकामा सबैको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने, त्यहाँ होल्डिङ्ग सेन्टरमा राख्ने र अभिलेख राखेर सुरक्षित रूपमा स्थानीय तहसम्म पु¥याउने । त्यसपछि हामीले तयार पारेको द्रुत कार्य योजनामा स्थानीय तहले आफ्ना पालिकाका नागरिकलाई क्वारेन्टिनमा अनिवार्य राख्नुपर्ने नीति छ ।’ तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै सकारले गड्डाचौकी र गौरीफन्टामा एक –एक हजार जनालाई राख्न सकिने क्षमता भएका दुई वटा होल्डिङ्ग सेन्टर निर्माणको काम पनि नेपाली सेना मार्फत सुरु गरेको छ ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

गरिब–असहायको सहारा बनिरहेकी जयन्ती : तीजको अवसरमा विपन्नलाई राहत…
दैलेख – हिन्दु नारीहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर दैलेखमा आर्थिक अवस्था कमजोर भएका… विस्तृतमा
आश बोकी जानेहरु लाश बनि आँउदा : मलेसियाबाट एकै दिन २४ नेपालीको…
धनगढी – शनिवार एकै दिन मलेसियाबाट २४ जना नेपालीको शव र अस्तु नेपाल आई पुगेको छ । रोजगारीको… विस्तृतमा
विद्यार्थी रमिता चन्दले साईप्रसबाट रकम संकलन गरि बिपन्न…
जेठ२८,२०७८ साईप्रसमा अध्ययरत विद्यार्थी रमिता चन्दले एक लाख बढि आर्थिक सहयोग संकलन गरि नेपालका… विस्तृतमा
जयन्ती थापाको कथाः कर्म अमेरिकातिर, समाजसेवा पश्चिम…
सीताराम ओझा - अमेरिका धेरैका लागि सपनाको देश । त्यहाँ पुगेपछि नेपाल फर्किन जो कोही चाहदैंनन् । वरु… विस्तृतमा