अछाममा दसैंको मुखमा भारततिर

news
news
September 29, 2:46

अछाम — केही वर्ष पहिले दसैंतिहारको समयमा भारतबाट घर फर्किनेको लर्को हुन्थ्यो । तर अहिले ठीक उल्टो भएको छ । दसैंतिहार नजिकिँदै गर्दा अछामबाट कामको खोजीमा भारतलगायत तस्रो मुलुक जानेको संख्यामा कमी आएको छैन ।अछामको कमलबजार बसपार्कमा भारत जान सोमबार जम्मा भएका स्थानीय ।

गाउँघरमा फेरि पुरुषहरू रित्तिन थालेका छन् । कोरोना संक्रमणले भारतका विभिन्न उद्योग, कलकारखाना, होटल व्यापार व्यवसाय बन्द भए । सुदूरपश्चिममा सबैभन्दा धेरै भारतमा रहेका अछामी घर पर्के । कोरोनाको त्रासले अछाम फर्केका नेपाल र भारत दुर्वतर्फ जनजीवन सहज हुँदै गएपछि भारत जान थालेका हुन् । सोमबार भारत जान अछाम सदरमुकाम मंगलसेन बसपार्कमा भेटिएका मंगलसेन नगरपालिका–७ का रामबहादुर जनाला भन्छन्, ‘घरपरिवार र मन शान्त भए जहिले दसैंतिहार हुने हो, यता छाक टार्ने गुजारा छैन । कसरी दसैंतिहार मनाउने आयस्रोत नै नभएपछि फेरि उतै भारत जान लागेको ।’

विभिन्न निकायले गरेको अध्ययनअनुसार कोरोना संक्रमणका कारण भारतबाट मात्रै ५० हजार कामदार अछाम फर्किएका थिए । तीमध्ये केही गत वर्ष नै भारत गए भने बाँकी रहेकाहरू अहिले पनि गइरहेका छन् । कसैले गाउँमै कर्जा लिएर र कोही मोबाइल बेचेर यातायात खर्च जुटाउँछन् । अनि भारततिर लाग्छन् । भारतकै भरोसामा चलेका थुप्रै परिवारहरू अहिले समस्यामा परेका छन् । ‘गाउँको एक समूहबाट ऋण निकालेर श्रीमान्लाई बम्बै पठाएँ,’ भारत गइरहेका श्रीमान्लाई बिदाइ गर्न बसपार्कमा भेटिएकी मंगलसेन नगरपालिका–१ की रम्भा थापा भन्छिन्, ‘यता बसेर घर खर्च चलाउन निकै गाह्रो भयो । झन् तनाव थपियो । उहाँ (श्रीमान्) त दसैंपछि जान्छु भन्नुहुन्थ्यो । मैले छिटो जानुस् भनेर कर गरें ।’

यस्तै, समस्याको चपेटामा परेका तुर्माखाँद गाउॅपालिका–५ का रतन बुढा बसपार्कमा भेटिए । रातो अक्षताले उनको निधार भरिएको थियो । बसपार्कमा भारत फर्किनेहरूको चहलपहल निकै बढेको छ । उनी पनि त्यही भीडमा थिए । मलिन अनुहार, गहभरि आँसु जम्मा गरेर उनी उपचार गर्न आएका परिवारलाई सम्झाउँदै थिए । बिरामी आमालाई छोडेर महामारीको समयमा परिवारबाट छुट्टिनु पर्दाको पीडा उनको अनुहारमा झल्किन्थ्यो । ‘घरमा बसेर पनि के गरौं ? १ वर्ष घरमा बस्दा धेरै समस्या भयो । बिरामी आमालाई उपचार गर्न पनि त पैसा चाहियो । साथीभाइ आफन्तसँग धेरै ऋण लिइसके । अब त कसैले पत्याउँदैनन् । माग्न पनि सकिँदैन,’ उनले भारत जानु पर्ने विवशतमा सुनाए । कमलबजार नगरपालिका–१ मुलीका ३४ वर्षीय निराजन बिष्टको समस्या पनि रतनबहादुरको जस्तै छ । उनी १५ वर्षकै उमेरदेखि कामको खोजीमा भारत जान थालेका हुन् । यो अवधिमा उनी वर्षमा एक/दुई पटक घर आउने र फेरि भारतमै जाने गर्थे । झन्डै दुई दशक बढी भारतमा जाँदा पनि एउटै जागिरको टुंगो थिएन । कहिले होटलमा काम गर्ने, कहिले गाडी धुने र कहिले सडक सफा गर्ने काम गर्थे ।

भारतमा कोरोना संक्रमण महामारीको रूपमा फैलिन थालेपछि एक वर्षअघि उनी जसोतसो आफ्नो घर पुगे । त्यसपछिका दिनहरू घरमै बसेर बिताउन उनलाई सहज थिएन । ४ छोराछोरी, श्रीमती, आमाबुबा सबैको खर्च उनैले बेहोर्न पर्थ्यो । घरमा बस्दा आम्दानीको स्रोत नभएपछि उनलाई छटपटी भयो । ८ महिना घरमा बस्दा साथीभाइ आफन्तसँग सापटी मागेर बिष्टले घर खर्च चलाए । गाउँमा काम पनि खोजे । तर केही भेटिएन । गरिबीले दिन प्रतिदिन अवस्था खस्कँदै गएपछि सोमबार उनी फेरि कामको खोजीमा भारततिर लागे । ‘पहिले भारतको पुणेमा एउटा होटलमा काम गर्थें, गाडी धुने काम थियो । अहिले साहुलाई सम्पर्क गर्दा अवस्था सामान्य भएको छैन । काम दिन सक्ने अवस्था छैन भने,’ उनले भने, ‘यता बसेर पनि के केही गर्न सकिएन । आफूसँग एउटा मोबाइल थियो । त्यही बेचेर गाडीभाडा बनाएर जान लागें । अब काम पाइन्छ/पाइन्न केही थाहा छैन ।’

भारत जान मंगलसेन बसपार्कमै भेटिएका तुर्माखाँदका दीपक बीसी चिन्तित थिए । पहिले भारत जानेबेला काम पाइहालिन्छ भनेर ढुक्क भएर जान्थे । तर अहिले भारत गए पनि काम पाइन्छ कि पाइँदैन भन्ने चिन्तामा छन् । भारतबाट घर फर्केपछि घरमा झन् समस्या बढेको उनले बताए । ‘आफू मात्रै भए त जेनतेन गुजारा चल्थ्यो । आमाबुबा श्रीमती र छोराछोरीको चिन्ता लाग्छ,’ उनले भने, ‘दुई/तीन महिना खेतबारीको उब्जनीले गुजारा चल्यो । अब त चुल्होमा आगो बल्न नसक्ने अवस्था आयो ।’

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा