सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्यमन्त्री भट्टद्वारा उद्घाटन 

Volleyball
Volleyball
October 06, 4:26

धनगढी - 

कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले एक समारोहकाबिच उद्घाटन गरेका छन् । प्रदेश खेलकुद परिषद्को आयोजनामा ९ जिल्लाका खेलाडीको प्रतिनिधित्व हुने गरी प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार खेलाडीको सम्मान तथा खेलकुदको विकासका लागि अग्रसर रहेको बताए । ‘राष्ट्र तथा प्रदेशलाई चिनाउनका लागि अग्रसर रहेका खेलाडीको सम्मान र खेल क्षेत्रको विकासका लागि पूर्वाधारको व्यवस्थापनमा प्रदेश सरकारले कुनै कमी गर्ने छैन,’ उनले भने, ‘सुदूरपश्चिम सरकारले खेलकुदको विकासका लागि कार्यकालको सुरुवातबाटै मुख्यमन्त्री कपको आयोजना गरेको थियो । त्यसपछि अहिले ८८ वटै स्थानीय तहमा खेलकुद परिषद्को संरचनाको कामलाई तीव्रता दिएको छ ।’ प्रदेश सरकारले खेलकुद प्रशिक्षणका गतिविधि र सबै जिल्लामा पूर्वाधारको विकासका लागि तीव्रताका साथ काम गरिरहेको मुख्यमन्त्री भट्टको दाबी छ । 

उद्घाटन समारोहमा प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले प्रदेशको खेलकुद क्षेत्रलाई थप चलायमान बनाउन खेलकुद परिषद्लाई थप सक्रिय बनाउने काममा प्रदेश सरकार लागिपरेको बताए । 

प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार  असोज २३ गतेसम्म धनगढीमा सञ्चालन हुने छ । प्रदेशका ९ वटा जिल्लाका टिमहरूले सहभागिता जनाउने प्रतियोगिताको विजेतालाई नगद १ लाख सहित ट्रफी दिइने पत्रकार सम्मेलनमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उपविजेतालाई नगद ५० हजार सहित ट्रफी दिइने छ । प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टिमलाई २५÷२५ हजार नगद सहित ट्रफी दिइनेछ भने विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइनेछ । 

प्रतियोगिता सञ्चालनमा झन्डै ५० लाख खर्च हुने अनुमान गरिएको छ । जिल्लाहरूलाई टिम छनोटका लागि सुरुमा ५० हजार दिइएकोमा जिल्लाहरूले आफ्नो जिल्लाको टिम छनोट गरेका छन् । प्रतियोगितामा सहभागी सबै जिल्लाहरूको टिमको यातायातदेखि खाने बस्ने सबै खर्च सुदूरपश्चिम खेलकुद परिषद्ले व्यहोर्ने सदस्य सचिव सिंहले बताए । 

सुदूरपश्चिममै पहिलो पटक म्याटमा प्रतियोगिता सञ्चालन हुँदै छ । प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई समेटेर सुदूरपश्चिम प्रदेशको भलिबल टिम बनाइने सिंहले बताए । उनले ती खेलाडीहरूलाई प्रशिक्षणको व्यवस्था गरी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाइने सुदूरपश्चिम खेलकुद परिषद्ले जनाएको छ । 

मुख्यमन्त्री कपका विजेता खेलाडीले ढाई वर्षपछि पाए पुरस्कार रकम 

धनगढीमा २०७५ साल चैत्रमा सम्पन्न मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता च्याम्पियन टोली सुदूरपश्चिम प्रदेशका खेलाडीले ढाई वर्षपछि पुरस्कार रकम पाएका छन् । सुदूरपश्चिम खेलकुद परिषद्ले पुरस्कार रकम प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा खेलाडीहरूलाई दिएको हो । 

ढाई वर्षसम्म सुदूरपश्चिम खेलकुद विकास समिति र प्रदेशको सामाजिक विकास मन्त्रालयको संयुक्त खातामा रहेको रकम बल्ल आएर खेलाडीलाई वितरण गरिएको हो । विभिन्न खेलमा पदक जितेका खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नगद रकम सहित खेलाडीहरूलाई सम्मान गरेका छन् । लामो समयपछि पुरस्कार रकम पाउँदा निराश रहेका खेलाडीहरू हर्षित भएका छन् । 

खेलाडीले जितेको पुरस्कार नपाउँदा निराशा पैदा भएको अवस्थामा खेलकुद विकास समिति र मन्त्रालयसँग लडेर रकम माग्दै खेलाडीहरुलाई वितरण गरिएको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए । 

उनका अनुसार व्यक्तिगत तर्फ पहिलो हुनेलाई ३५ हजारm दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद दिइएको छ । त्यस्तै समूह तर्फ प्रथम हुने टिमलाई जनही २८ हजारका दरले रकम दिइएको छ । त्यस्तै तीन खेलका प्रशिक्षकले प्रति व्यक्ती नगद ११ हजार दिइएको छ । प्रतियोगितामा आयोजक सुदूरपश्चिम प्रदेश ३ स्वर्ण, १ रजत र ३ कांस्य सहित च्याम्पियन बनेको थियो । च्याम्पियन टोलीले १५ लाख नगदमा सरकारी कर कट्टा गरी ११ लाख २५ हजार रकमलाई वितरण गरिने भएको छ । 

ब्याडमिन्टनमा दुई स्वर्ण जित्ने देवराज राना र जेबी साउँदले जनही ३५÷३५ हजार पाउँदा रजत जित्ने नीलिमा महारा र रोशन साउँदले जनही २५÷२५ हजार पाए । त्यस्तै कांस्य पदक जित्ने रोशन साउँद प्रियशु सिंह क्षेत्री, अमृत चौधरी, योगेश खड्का र एलिना तिरुवाले जनही १५÷१५ हजार पाए । प्रशिक्षक मेघराज कठायतले नगद ११ हजार प्राप्त गरे । 

सुदूरपश्चिमको पुरुष फुटबल र महिला क्रिकेट टोलीले पनि स्वर्ण जितेको थियो । टोलीका सदस्यहरूले जनही २८÷२८ हजार पाएका छन् । क्रिकेट प्रशिक्षक ज्ञानेन्द्र क्षेत्रीले नगद ११ हजार पाउँदा १४ जना खेलाडीले २८ हजारका दरले रकम पुरस्कार पाएका छन् । पुरस्कार पाउनेमा कविता कुँवर, कविता जोशी, विन्दु रावल, ईश्वरी विष्ट, जानकी भट्ट, सुमन विष्ट, डल्ली भट्ट, रेवती धामी, निशा भट्ट, मञ्जु बोगटी, लक्ष्मी साउँद, रुवी पोदार, सम्झना खड्का र शोभा रोकाया रहेका छन् । 

पुरुष फुटबलमा प्रशिक्षक रोहित भण्डारीले ११ हजार पाउँदा टोलीका १८ जना सदस्यहरूले २८ हजारका दरले रकम पुरस्कार पाएका छन् । पुरस्कार पाउनेमा गजेन्द्र शाही, माधव भण्डारी, राकेश हमाल, नरेन्द्र चौधरी, कमल देउवा, सन्दीप कुँवर, भगेन्द्र चौधरी, अमानत सेख, जीवन चौधरी, चेतमान कठायत, हिक्मत खत्री, उनेश रेग्मी, टिका थापा, सुनिल धामी, सुनिल शाह, सुरेन्द्र राना, वीर धामी र प्रविन दाहाल रहेका छन् । 

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा