बैतडीकी रितु कनौजियाको कप्तानीमा ‘टिम सुदूरपश्चिम’
धनगढी,१ पुष / सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले बैतडीकी रितु कनौजियाको कप्तानीमा १८ सदस्यीय टीम घोषणा गरेको छ । १८ मा ४ जना बैकल्पिक खेलाडीको सूचीमा छन् ।
३ पुसबाट कैलालीको धनगढीमा आयोजना हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि टीम सुदूरपश्चिम घोषणा गरिएको हो । संघका सचिव तेजप्रकाश भट्टका अनुसार टीममा कञ्चनपुरकी बिन्दु रावल, डौली भट्ट, कविता जोशी, दिपा जोरा र बिमला भट्ट छन् ।
यस्तै कैलालीबाट कबिता कुवर, रुबी पोदार, लक्ष्मी साउद, इश्वरी बिष्ट, शोभा रोकाया समेटिएका छन् । बैतडीबाट कप्तान कनौजियासहित दिब्या कार्की, संगिता मौनी परेका छन् ।
बझाङबाट सम्झना खड्का परेकी छन् । संघका अनुसार रेवती धामी, मनिषा चौधरी, भावना जोशी र सपना तामाङलाई बैकल्पिक खेलाडीको सूचीमा राखिएको छ । सचिव भट्टका अनुसार यसअघि सम्पन्न प्रादेशिक प्रतियोगितालाई आधार बनाएर खेलाडी छनौट गरिएका हुन् ।