गौरीगंगामा वडा स्तरीय सार्वजनिक सुनुवाई सम्पन्न
धनगढी, असार १७ - कैलालीको गौरीगंगा नगरपालिकाले नगरका ५ वटा वडाको वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
जम्मा ११ वटा वडा भएको गौरीगंगा नगरपालिकाले बाँकी वडामा चाँडै सार्वजनिक सुनुवाईको आयोजना हुने बताए । वडा नं ५, ६, ७, ८ र ९ नम्वर वडाको सार्वजनिक सुनुवाई सम्पन्न भैसकेको नगरपालिकाले जनाएको छ ।
वडाका योजनाहरुको सामाजिक परीक्षण पछि पनि समग्र योजनाहरुको वडातहमा सार्वजनिक सुनुवाई गर्ने गरिएको गौरीगंगा नगरपालिकाका प्रमुख भिमबहादुर देउवाले बताए । गौरीगांगा नगरपालिकाले शु–शासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ नगरप्रमुख देउवाले भने, सार्वजनिक सुनुवाई कार्यक्रममा आएका गुनासालाई जनप्रतिनिधीहरुले सम्पतीको रुपमा लिनुपर्छ भन्ने मान्यता हाम्रो हो ।
नगरप्रमुख देउवाले वडा स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा वडाका जनप्रतिनिधीका साथै आफु समेत उपस्थीत हुने गरेको बताए । जनताका गुनासा सुन्न र नझर्किएर जवाफ दिन जनप्रतिनिधीहरुलाई निर्देशन दिईएको पनि नगरप्रमुख देउवाले बताए । शोमबार मात्रै गौरीगंगा नगरपालिका वडा नं ७, ८ र ९ को सार्वजनिक सुनुवाई मसुरियाको साझा बजारमा सम्पन्न भएको वडा नं ७ का अध्यक्ष दिपक कुमालले बताए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडातहका गुनासोहरुको सुनुवाई वडाका जनप्रतिनिधीहरुले र नगरको नगरप्रमुखले गर्ने गरेको वडा नं ८ का अध्यक्ष तुलाराम सापकोटाले बताए । वडा नं ९ का अध्यक्ष हरी प्रशाद तिवारीले सार्वजनिक सुनुवाई कार्यक्रम सु–शासन प्रवद्र्धनको महत्वपूर्ण विधी भएको बताए ।