सुदूरपश्चिममा गठबन्धनलाई भागबण्डामा सकस
धनगढी, ६ बैशाख / यही ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा तालमेल गरेर जाने निर्णय गरेको सत्तारुढ गठबन्धनलाई नेतृत्व भागबण्डामा भने सकस देखिएको छ । गठबन्धनमा आवद्ध दलहरुबीच कुनै पनि जिल्लामा नेतृत्व भागबण्डामा सहमति जुटेको छैन । बरु दलहरुका कतिपय पालिका र निर्वाचन क्षेत्रका कमिटीले आ–आफ्नो तहमा तालमेल नगर्ने निर्णय गर्दै उम्मेदवार घोषणा र सिफारिस गर्न थालेका छन् ।
कतिपय ठाउँमा तालमेलको सम्भावना कम हुँदै गएपछि गठबन्धनमा आवद्ध दलका स्थानीय कमिटीले एकल उम्मेदवार घोषणा गर्ने र उम्मेदवारका आकांक्षीको नाम माथिल्लो कमिटीमा सिफारिस पठाउने कार्य गरिरहेका हुन् । कैलाली, कञ्चनपुर, अछाम, दार्चुला, बझाङ जिल्लामा सिट बाँडफाडमा बढी मतभेद देखिए पनि प्रदेशका नौवटै जिल्लामा सिट बाँडफाडमा सकस देखिएको छ । दलहरु आ–आफ्नो दाबीबाट पछि हट्न तयार नदेखिएकाले कतिपय ठाउँमा गठबन्धन हुने सम्भावना कम देखिएको आँकलन हुन थालेको छ ।
प्रदेशमा सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीमा गठबन्धनमा सिट बाँडफाडको कुरा मिलेको छैन । जिल्लामा पटक–पटक बसेको गठबन्धनको बैठकले सहमति जुटाउन नसकेपछि गठबन्धनको प्रदेश समितिलाई बाँडफाडको जिम्मा दिइएको छ । यहाँका १३ वटा तहमध्ये कांग्रेसले ११, माओवादीले सात र समाजवादीले पाँच वटा तहको नेतृत्व दावी गरेका छन् । कैलालीमा अहिले एमालेले छ, कांग्रेसले चार र माओवादीले एक जना कार्यवाहक अध्यक्षसहित तीन तहको नेतृत्व गरिरहेको छ ।
केन्द्रले तय गरेको सात बुँदे मापदण्डमै दलहरुबीच बुझाइ फरक परेपछि भागवण्डामा समस्या भएको नेपाली कांग्रेस कैलालीका सचिव केशब मिश्रले बताए । ‘जनमत केलाई आधार मान्नेजस्ता विषयमा सबैको आ–आफ्नै बुझाइ रह्यो । जिल्लामा सहमति नभएपछि प्रदेश पठाउने निर्ण भएको छ’ मिश्रले भने ।
बझाङमा पनि गठबन्धनबीच भागवण्डामा सहमति हुन सकेको छैन । गठबन्धनको सहमतिको सम्भावना कम देखिएपछि दलहरुले आआफ्नो पार्टीबाट उम्मेदवार छनौटको प्रक्रिया अगाडि बढाएका छन् । ‘गठबन्धनको सम्भावना कम देखिन्छ तर सम्भावना समाप्त भइसकेको छैन ।’ बझाङबाट प्रतिनिधित्व गर्ने माओवादी प्रदेश सचिव जनक बुढाले भने, ‘हामीले उम्मेदवार छनौट अगाडि बढाएका छौँ, सहमति भए उम्मेदवार छानिएका साथीहरुलाई ब्याक गर्छौँ ।’ दुई वटा पालिकामा उम्मेदवारको टुंगो लगाएको र बाँकी १० वटा पालिकामा एकरदुई दिनमै उम्मेदवार तय गर्ने उनले बताए ।
नेकपा एकीकृत समाजवादीका बझाङ जिल्ला संयोजक दिलबहादुर सिंहले नेतृत्व भगवण्डामा विवाद देखिएकाले जिल्लामा गठबन्धन हुने सम्भावना न्यून रहेको बताए । गठबन्धनमा समन्वय गर्ने जिम्मा पाएको कांग्रेसले बैठक डाकेर छलफलनै गर्न नचाहेको उनको आरोप छ । ‘अनौपचारिक छलफल भयो । उक्त छलफलमा तीनै पार्टीले आ–आफ्नो दावी पेश गरे ।’ उनले नयाँ पत्रिकासँग भने, ‘आफ्नो संगठननै नभएको ठाउँमा दावी आएपछि समस्या देखियो । गठबन्धनको सम्भावना कम भएपछि हामी आफ्नो हिसाबले अगाडि बढ्दैछौँ ।’
नेपाली कांग्रेसका प्रदेश सभापति बीरबहादुर बलायरले छलफलहरु भइरहे पनि भागवण्डाको विषय कुनै जिल्लामा नटुंगिएको बताए । सकेसम्म गठबन्धनमै जोड दिइरहे तर कतिपय ठाउँमा गठबन्धनको सम्भावना नदेखिएको उनले बताए । ‘सबै जिल्लामा छलफल भइरहेका छन् । केही ठाउँमा मिल्ने देखिन्छ । केहीमा मिल्ने देखिदैन ।’ सभापति बलायरले भने, ‘सकेसम्म गठबन्धन गरेरै जान भनेका छौँ ।’ जिल्लाले मिलाउन नसकेका ठाउँमा प्रदेशमा प्रयास गरिने उनले बताए ।
भागवण्डामा सकस भइरहँदा गठबन्धनमा आवद्ध दलहरुले पालिकामा उम्मेदवारको टुंगो लगाउन थालेका छन् । नेकपा माओवादी केन्द्रको धनगढी नगर कमिटीले धनगढी उपमहानरको मेयरमा शान्ति अधिकारी र उपमेयरमा तीन जनाको नाम सिफारिस गरेको छ । माओवादीले कैलालीका अन्य पालिकामा पनि उम्मेदवार सिफारिस गरिरहेको छ ।
यस्तै एकीकृत समाजवादीले धनगढीको मेयरमा दुई जनाको नाम सिफारिस गरेको छ । कांग्रेसमा धनगढीको मेयरका आकांक्षीले नगर कमिटीमा दावी गरिरहेका छन् । काँग्रेसमा वर्तमान मेयर नृपबहादुर वडसहित सात जनाले दावी गरेका छन् । गठबन्धन हुँदा जित्न सहज हुने भएकाले प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा कांग्रेसभित्र मेयरको उम्मेदवार बन्न हानथाप छ । मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले कडा चुनौती दिने देखिएपछि कांग्रेस गठबन्धनको बलले चुनाव जित्ने दाउमा छ ।
अन्य जिल्लाहरुमा गठबन्धनमा आवद्ध दलहरुले उम्मेदवार छनौटको प्रक्रिया अगाडि बढाएका छन् । अछाममा साँफेबगर नगरपालिका तथा चौरपाटी र रामारोशन गाउँपालिकाले लातमेल नगर्ने निर्णय गर्दै उम्मेदवार छनौट अगाडि बढाएका छन् । अछाममा जिल्लामा गठबन्धनबीच वडा तहसम्मै तालमेल गर्ने सहमति भएको छ । बैतडीका केही तहमा भने छलफल सकारात्मक रुपमा अघि बढेको दलहरुले बताएका छन् ।
प्रदेशका ८८ तहमै गठबन्धनको प्रदेश संयन्त्रमा भागवण्डा गरेर जाने विषयमा पनि छलफल भइरहेको बताइएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि चौधरी उत्सवले भने गठबन्धन सहमतिको नजिक रहेको दाबी गरे । ‘निर्वाचनमा कार्यगत एकता गरेर जानेमा सबै सहमत छौँ । कसले कति तह लिने भन्ने संख्यामा सबैको विमति छ ।’ उनले भने, ‘घनीभूत छलफल भइरहेको छ, सहमतिको नजिक छौँ ।’ नयाँ पत्रिका बाट