युनियनको महाधिबेशन तोकिएको मितिमै हुन्छ : अध्यक्ष सिग्देल
धनगढी, ९ धनगढी/नेपाल प्रेस युनियनको केन्द्रिय महाधिवेशन तोकिएकै समयमा हुने केन्द्रिय अध्यक्ष बद्री सिग्देलले बताएका छन । नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा शुक्रबार धनगढीमा आयोजित छलफल तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले युनियनको अधिवेशनमा जेठ १३ र १४ गते हेटौडामा सम्पन्न गर्ने गरि तयारी अघि बढेको बताएका हुन ।
उनले स्थानीय तहको निर्वाचन, काँग्रेस महासमिति बैठक, कोभिड महामारी लगायतका कारण युनियनको अधिवेशन समयमै गर्न नसकिएको बताए । उनले अहिले होटल बुकिङ्ग भइसकेको र १२ गतेनै देशभरीका युनियनमा आवद्ध पत्रकारहरुले आयोजना स्थालमा पुगि सक्नुपर्ने बताए ।
अध्यक्ष सिग्देलले वरिष्ठ पत्रकारकै कमी कमजोरीका कारण केही जिल्लामा युनियनभित्र गुट उपगुटको अवस्था आइरहेको बताए । ‘महासंघको निर्वाचनमा अग्रज पत्रकारहरुलाई जिल्ला भित्रको समस्या समाधान गर्न भनि हामीले कुनै हष्तक्षेप गरेनौ’ उनले भने –केही जिल्लामा अन्तिमसम्म उहाँहरुले निर्णय लिन सक्नुभएन । अनि हामीले उम्मेदवार तोकी पठाउँदा अग्रज दाजुहरुले आफनै उम्मेदवार खडा गरि चुनावी प्रतिष्पर्धामा जानुभयो ।’ उनले उहाँहरुका कारण संगठन कमजोर बन्दै गएको बताए ।
‘अग्रज दाजुहरुले एक आपसमा बसी छलफल गरेर समस्या समाधान गर्नुको सट्टा केन्द्रलाईनै विवादमा तान्नुभयो’ उनले भने –‘एउटालाई हामीले केन्द्रिय सदस्य बनाउदा त्यो प्रति न्याय हुने, अनि जिल्लामा हामीलेनै पुन अध्यक्ष तोक्दा उहाँहरुप्रति अन्याय हुने’ उनले भने –‘केन्द्रलाई विवादमा ल्याउन हाम्रो चाहना छैन । हामीले संगठन बलियो बनाउनुपर्छ भनेरमात्र अन्तिममा उम्मेदवार तोकेका थियौं । यसमा अग्रज दाजुहरुलाई किन चित्त दुखेको हो । मिलाउने जिम्ममा दिँदा नसकेपछि के गर्नु हो त ।’ उनले आगामी महाधिवेशनमा युनियनको केन्द्रिय अध्यक्ष कसलाई बनाउने भनी अहिलेनै भन्न नसक्ने बताए ।
युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन लाग्नुपर्ने दायित्व युनियनको पनि रहेको बताए । ‘युनियन पार्टीको भातृ संगठन हो । आफनो पदीय जिम्मेवारीको वहन गर्दै पार्टीलाई सहयोग गर्ने जिम्मेवारी पनि हाम्रो हो’ उनले भने –‘पार्टीसंग सहकार्य गर्नुपर्छ । सही नेतृत्वका लागि युनियनमा आवद्ध सञ्चारकर्मी साथीहरुले कलम चलाउनुपर्छ ।’ उनले अहिले गठबन्धन रहेकाले गठबन्धनलाई बलियो बनाउनतर्फ पनि पत्रकारहरुले भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले भने – ‘अपेक्षाकृत गठबन्धन सफल हुन सकेन भने मुलुकले ठुलो घाटा व्यहोर्नुपर्ने हुन्छ ।’
युनियनका कोषाध्यक्ष सरोज अधिकारीले युनियनभित्र गुट उपगुटको समस्या केही जिल्लामा रहेको बताए ।
‘गुट उपगुटले केन्द्रमा होइन । सबैभन्दा समस्या जिल्लामै ल्याउन्छ’ उनले भने ‘युनियनको आफनै विधि र विधान रहेको छ । त्यही अनुरुप संगठन अघि चलेमात्र संगठनलाई बलियो बनाउन सकिन्छ ।’ कोषाध्यक्ष अधिकारीले युनियनले अब समयमै महाधिवेशन गर्ने गरि संकल्प प्रस्ताव अघि बढाउनुपर्ने बताए । उनले भने – ‘केन्द्रीय कार्यसमितिले आठ वर्षसम्म अधिवेशन गर्न सकेन भनेर अहिले जिल्लामा पनि त्यही परम्परा स्थापित हुन लागेको छ । यसलाई तोड्न सो संकल्प प्रस्ताव ल्याउन जरुरी छ ।’
युनियन कैलाली अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको कार्यक्रममा युनियन आवद्ध पत्रकारहरुले काँग्रेस नेतृत्वको सरकार नहुँदा युनियनका पत्रकारहरुले विभिन्न समस्या झेल्नुपरेको, युनियन आवद्ध पत्रकारहरुको सवालमा केन्द्रीय समितिले बुलन्द आवाज उठाउन नसकेको, केपी शर्मा ओली नेतृत्वको सरकारमा सरकारी सञ्चारमाध्यममा कार्यरत युनियन आवद्ध पत्रकारहरुलाई विना कारण पदबाट निस्कासित गरिएको लगायतका गुनासो व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सचिव सिताराम ओझाले गरेका थिए भने कार्यक्रममा स्वगत मन्तव्य उपाध्यक्ष भावना जोशीले गरेकी थिईन् ।