सुदूरपश्चिममा नेकपा एसको एक्लै चुनाव लड्ने तयारी
धनगढी, ९ वैशाख / नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचनका लागि सुदूरपश्चिमका सबै पालिकामा एकल उम्मेदवारी दिने भएको छ । उक्त पार्टीले सुदूरपश्चिमका ८८ पालिकासहित सम्पूर्ण वडामा उम्मेदवारी दिने भएको हो ।
पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले तल्ला कमिटीहरूलाई आन्तरिक सर्कुलरमार्फत यस्तो नीति तय गरेको हो ।सत्ता गठबन्धनको शीर्ष नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको मेयर कांग्रेसलाई दिने निर्णय गरेको थियो । उपमेयरको स्वाभाविक दाबेदार एकीकृत समाजवादीलाई उक्त उम्मेदवारीबाट वञ्चित गरिएपछि समाजवादीको स्थानीय नेतृत्वमा आक्रोश चुलिएको छ ।
एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदको सबभन्दा ठूलो दल हो । उक्त दलले धनगढीमा माओवादीको तुलनामा आफ्नो स्थिति सुदृढ रहेको दाबी गर्दै आएको छ । तर, उपमेयरको उम्मेदवारी माओवादीलाई दिने निर्णयले धनगढीको जनमतमाथि धाबा बोलिएको भन्दै समाजवादीका स्थानीय नेताहरू असन्तुष्ट छन् ।
जनतामाझ पार्टीको जबर्जस्त उपस्थिति देखाउन सबै ठाउँमा उम्मेदवारी दिन लागिएको प्रदेश कमिटीका एक नेताले बताए ।समाजवादीले यस्तो निर्णय लिएपछि कांग्रेस भने झस्किएको छ । गठबन्धनको केन्द्रीय नेतृत्वले सुदूरपश्चिमको एकमात्र उपमहानगरमा कांग्रेसलाई प्रमुख र उपप्रमुख माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ ।
वडाहरुमा समाजवादीलाई सम्मानजनक उम्मेदवारी दिने केन्द्रको निर्णय छ ।धनगढी उपमहानगरमा जसले जस्तोसुकै गठबन्धन गरे पनि स्वतन्त्र उम्मेदवार गोपाल हमाल हेभिवेट मानिएका छन् ।