काँग्रेसमा विवाद चर्किँदै : एउटै पदमा दुई जनाको उम्मेदवारी दर्ता
धनगढी १३ बैशाख / यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनका क्रममा नेपाली काँग्रेस कैलालीमा विवाद बढेको छ । प्रदेश र जिल्लाले अलग-अलग व्यक्तिलाई टिकट दिएपछि कैलालीका दुई पालिकामा एउटै पदमा काँग्रेसबाट दुई/दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
जिल्लामा सत्ता गठबन्धनका तीन दल (काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी) बीच पालिकामा भागबण्डा भएपछि काँग्रेसले आफ्नो भागमा परेका सिटमा सोमबार बिहानमात्रै उम्मेदवारीको टुङ्गो लगाएको थियो । यस क्रममा काँग्रेस प्रदेश संसदीय बोर्डले घोडाघोडी नगरपालिकाको उपप्रमुखमा रीता चौधरी र लम्कीचुहा नगरपालिका प्रमुखमा भक्तबहादुर थापालाई टिकट दिएको जनाइएको थियो । तर, घोडाघोडीमा गुलिया देवी चौधरी र लम्कीचुहामा सुशीला शाहीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
गुलिया र सुशीलाले आफूहरु आधिकारिक उम्मेदवार भएको बताएका छन् । एउटै पदमा दुई जनाको उम्मेदवारी दर्ता भएपछि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले दुवै उम्मेदवारको मनोनयन पत्र दर्ता गराएको छ । निर्वाचन अधिकृतका कार्यालयले पार्टीको आधिकारिक पत्र प्राप्त भएपछि नै अन्तिम टुङ्गो लगाउने जनाएका छन् ।
कैलाली क्षेत्र नम्बर २ का पूर्वसभापति तथा वर्तमान जिल्ला सदस्य देवानन्द जैशीले भक्तबहादुरसँग पार्टीका केन्द्रीय सभापतिको हस्ताक्षर भएको टिकट, प्रदेश समितिको पत्र र निर्णयको प्रतिलिपि समेत रहेकोले उनी नै आधिकारिक उम्मेदवार भएको बताए ।