डोटीमा ३४३ पदको लागि १ हजार ६९ जनाको उम्मेदवारी

April 26, 8:38

डोटी : बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि सोमबार मध्यरातसम्म मनोनयन दर्ता भएको थियो। ६५ वटा वडामा जम्मा दुई सय ३२ जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। जसमा एउटा वडामा मात्रै एक जना महिलाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छन्।
जिल्लाको शिखर नगरपालिका-५ मा नेपाली कांग्रेसको तर्फबाट रमा कुमारी रावल (साउद) ले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन्। उनी यसअघि नगरकार्य पालिकाको सदस्य समेत रहेको थिइन। त्यसैगरी दिपायल सिलगढी नगरपालिकाको नगरप्रमुखमासमेत एक जना महिलाले उम्मेदवारी दर्ता गराएकी छन्। जनता समाजवादी पार्टीकोतर्फबाट कला देवी श्रेष्ठले प्रमुखमा उम्मेदवारी दर्ता गराएकी हुन्।
आइतबार र सोमबार मनोनयन दर्ता गर्ने समय भएपनि डोटीमा आइतबार जोरायल गाउँपालिकामा नेकपा एमालेले मात्रै उम्मेदवारी दर्ता गराएको थियो। बाँकी सबै दलहरुले सोमबार (हिजो) मात्रै सबै पालिकामा मनोनयन दर्ता गारएका थिए। सबै पालिकामा मनोनयन दर्ता गर्ने कार्यक्रम मध्यरात सकिएको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिए। कार्यक्र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।
दुई महिलासहित तीन जना पत्रकारको उम्मेदवारी
डोटीमा दुई जना महिला र एक जना पुरुषगरी तीन जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन्। शिखर नगरपालीकाको उपप्रमुखमा सुनिता रावलले उम्मेदवारी दिएकी छन्। उनी नेपाल पत्रकार संघ डोटी शाखाकी उपाध्यक्ष हुन्। रावलले नेपाली कांग्रसकोबाट उम्मेदवारी दर्ता गराएकी हुन्।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत रावल नेपाल प्रेस युनियनकी केन्द्रीय पार्षदसमेत हुन्। त्यसैगरी आदर्श गाउँपालिकाको उपाध्यक्षमा पत्रकार लक्ष्मी रोकायले कांग्रेसकोतर्फबाट उम्मेदवारी दर्ता गराएकी छन्। उनी नेपाल प्रेस युनियन डोटी शाखाको उपाध्यक्ष हुन् भने उनी केही अनलाईनहरुमा कलम चलाउँदै आइरहेकी थिइन।
नेपाली कांग्रेसकै तर्फबाट जोरायल गाउँपालिकाको वडा नम्बर ४ को वडा अध्यक्षमा पत्रकार महासंघका साधारण सदस्य जितेन्द्र बोहराले समेत उम्मेदवारी दर्ता गराएका छन्। उनी केही अनलाईनमा काम गर्दै आइरहेका थिए। 
३४३ पदको लागि १०६९ जनाको उम्मेदवारी
डोटीमा तीन सय ४३ पदको लागि एक हजार ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए। दिपायल सिलगढी नगरपालिकाको प्रमुखको लागि ७ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखको लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी नौ वटा वडा अध्यक्षको लागि ३७ जनाको उम्मेदवारी परेको छ भने खुल्ला सदस्यमा ५६, महिला सदस्यमा २७ तथा दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत काफ्लेले बताए।
डोटीको अर्को नगरपालिका शिखर नगरपालिकाको प्रमुखमा ५ जना र उपप्रमुखमा ३ जनाको उम्मेदवारी परेको छ। शिखर नगरपालिकामा ५७ पदमा एक सय ४८ जनाको उम्मेदवारी परेको छ। पूर्बीचौकी गाउँपालिकामा ३७ पदको लागि एक सय १६ जनाको उम्मेदवारी परेको छ। सायल गाउँपालिकामा ३२ पदको लागि ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आदर्श गाउँपालिकामा ३७ पदको लागि एक सय २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी केआईसिंह गाउँपालिकामा ३७ पदको लागि एक सय १८ जनाले उम्मेदवारी हालेका छन्। बोगटान फुड्सिल गाउँपालिकामा ३७ पदको लागि एक सय १५ जनाको उम्मेदवारी परेको छ। बडीकेदार गाउँपालिकामा २७ पदको लागि ८२ जनाले उम्मेदवारी हालेका छन् भने जोरायल गाउँपालिकामा ३२ पदको लागि एक सय १५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन्।

डोटीमा जम्मा सात वटा पार्टीले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गरेका हुन्। डोटीमा खासगरी नेपाली कांग्रेस र नेकपा एमालेबीचनै प्रतिस्पर्धा हुने देखिन्छ।
डोटीमा नौं वटा स्थानीयतहगरी जम्मा ६५ वटा वडा रहेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा