सत्ता गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने
काठमाडौँ : पाँच दलीय सत्ता गठबन्धनले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । सत्ता गठबन्धनले साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएको हो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र ‘निर्वाचन तयारी तथा अनुगमन समिति’का संयोजक रामचन्द्र पौडेलका अनुसार बुधबार शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गरेको छ ।
काँग्रेस वरिष्ठ नेता पौडेलले संचारकर्मी संग भने, “साझा उम्मेदवारबाहेकका साथीहरूलाई मनोनयन फिर्ता लिन आग्रह गर्छौं । पार्टीमा उहाँहरूले गर्नुभएको योगदानको मूल्याङ्कन हुन्छ । अहिलेलाई उहाँहरूले पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीको निर्णय मान्नुको विकल्प पनि छैन । यही आग्रह सबै साथीहरूलाई गर्छौं ।”
पौडेलले गठबन्धनलाई बलियो बनाउनु अहिलेको आवश्यकता र जिम्मेवारी रहेको बताउँदै पार्टीको निर्णयविपरीत मनोनयन गरेका नेताहरूले वैशाख १६ गतेभित्र उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेका थियो । गठबन्धनले केन्द्रबाटै सहमति गरेर देशभर तालमेल गर्ने निर्णय गरे पनि महत्वपूर्ण स्थानमा समेत त्यसलाई कायम राख्न असफल भएको छ ।
केन्द्रबाटै तालमेल गर्ने निर्णय गरेका ६ वटा महानगर र ११ वटा उपमहानगरमा समेत अधिकांश ठाउँमा गठबन्धन दलहरूबाटै बागी उम्मेदवारी परे । कतिपयमा ठाउँमा गठबन्धनभित्र पनि गठबन्धन बने भने कतिपय स्थानमा गठबन्धन बाहिरको प्रमुख दल एमालेसँगै तालमेल गरेर उम्मेदवारी दर्ता भए ।
नेपाली काँग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका छन ।
शर्माले भनेका छन्, “जिम्मेवार सपना त्यो होइन, जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढङ्गले धरातलमा उभिन्छ । जमिनमा टेकेर गर्न सकिने कामहरू मात्रै उल्लेख गरिएको काँग्रेसको घोषणापत्र ओलीजीलाई मन परेन, ठीकै छ तर, कम्तीमा विषयको बहसमा आउन चाहेकोमा उहाँलाई धन्यवाद छ ।”
त्यसैगरी, काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको घोषणापत्रका सन्दर्भमा ओलीको अभिव्यक्ति खेदजनक भएको बताए। काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “निर्वाचन आचारसंहिता लागू भइसकेपछि एमाले अध्यक्षले दिएको अभिव्यक्ति सामान्य अवस्थामा पनि बोल्न नहुने छ । यसप्रति काँग्रेस खेद प्रकट गर्दछ ।”