पैंसा बोकेर राती गाउँ पस्नेलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाउँन कांग्रेस सभापति बलायारकाे निर्देशन
डाेटी २६ बैशाख - नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति एवं पूर्व मन्त्री वीर बहादुर बलायरले मौन अवधिमा पैंसा सहति राती गाउँपस्नेलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन निर्देशन दिएका छन् । शिखर नगरपालिका–१ कपल्लेकीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्थानीय तह निर्वाचनको अबको बाँकी समय रखवाली गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
कम्युनिष्टहरुले भ्रष्टाचार गरेर, जनता तथा श्रमजीविहरुलाई लुटेर अकुत सम्पती आर्जेको आरोप लगाउँदै सभापति बलायरले त्यो कालो धन उनिहरुले निर्वाचनमा प्रयोग गर्ने खतरा बढेको बताए । उनले कम्युनिष्टहरुले कमिसन खाएको, भ्रष्टाचार गरेको कालो धन घरमा लुकाएर राखेका कारण मुलुकमा आर्थिक मन्दी आएको र बैंकमा पैंसा रित्तिएको बताए ।
‘गलत तरिकाबाट कमाएको पैंसा बैंकमा जम्मा गर्दा आयस्रोत देखाउनु पर्ने हुन्छ,‘बलायरले भने,‘अकुत सम्पतीको आयस्रोत देखाउने ठाउँ नभए पछि घरमै पैंसा लुकाएको छ । त्यो कालो धन चुनावमा मतदाता प्रभावित पार्न प्रयोग हुन सक्छ त्यसैले कांग्रेस कार्यकर्ता अबको चार दिन चनाखो हुनु पर्ने छ ।’
पैंसाको चलखेल हुन दिएन भने जिल्लाका सबै वडा र पालिकामा कांग्रेस बहुमतले चुनाव जित्ने सभापति बलायरको दावी छ । उनले कांग्रेस कार्यकर्ताहरुलाई मतदाता प्रभावीत पार्न पैंसा बोकेर राती–राती गाउँवस्तीमा छिर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिएर तिनको झोला समातेर प्रहरीलाई बुझाउन निर्देशन समेत दिएका छन् ।
शिखर नगरपालिकाका ९ वटै वडामा चुनाव जित्ने निश्चित भएको बताउँदै उनले भने,‘हाम्रो तागतका अगाडी, इमान्दारीताको अगाडी, हाम्रो सैद्धान्तिक निष्ठा र आदर्शका अगाडी आजसम्म डोटीमा हामीसँग सैद्धान्तिक प्रतिवाद गर्न सक्ने एउटा पनि कम्युनिष्ठ नेता छैन, तसर्थ कांग्रेसलाई मतदान गरी बहुमतले विजयी गराउँन हार्दिक अपिल गर्दछु ।’