सुदूरपश्चिममा सरकारको नेतृत्व लिन काँग्रेसले थाल्यो परामर्श
धनगढी – सुदूरपश्चिममा सरकार गठनका लागि प्रदेश प्रमुखबाट २७ गतेको समय सीमा दिइएको छ । त्यसको कसरतमा दलहरू अघि बढेका छन् । प्रदेश सभाको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्न परामर्श थालेको छ ।
आइतबार पार्टी प्रदेश कार्यालयमा सुदूरपश्चिम प्रदेश कार्यवाहक सभापति लोकराज अवस्थीको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो नेतृत्वमा सरकार गठनका लागि परामर्श थाल्ने निर्णय गरेको हो । प्रदेश कार्यसम्पादन समितिका सदस्य सुरत रावत (डोटेली कान्छा) का अनुसार काँसको नेतृत्वमा प्रदेश सरकार गठनका लागि पार्टी प्रदेश सभापति वीरबहादुर बलायरलाई परामर्श गर्न जिम्मा दिइएको छ । साथै उक्त बैठकबाट निर्वाचनमा खटिने सबै कार्यकर्ता तथा आम मतदातालाई धन्यवाद ज्ञापन, निर्वाचित जनप्रतिनिधिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्ने निर्णय समेत भएको छ ।